काठमाडौं उपत्यका छाड्न दिने कुनै निर्णय नभएको भन्दै भ्रमको पछि नलाग्न सरकारको आग्रह

काठमाडौं, २७ चैत । सरकारले काठमाडौं उपत्यका छाड्न चाहनेहरुलाई छाड्न अनुमति दिने भन्ने विषयमा कुनै निर्णय नभएको प्रष्ट पारेको छ । र, सरकारले भ्रमको पछि नलाग्न पनि आग्रह गरेको छ ।
रक्षा मन्त्रालयलाई उद्धृत गर्दै एकाएक सञ्चार माध्यममा यो विषयमा समाचार सम्प्रेषण भएपछि स्वयं रक्षाले यस विषयमा चासो देखाएको थियो ।
केही मन्त्रीहरुलाई समेत उद्धृत गर्दै ‘भ्रमपूर्ण’ समाचार सम्प्रेषण भएपछि काठमाडौं छाड्ने चाहने ठूलो संख्याका नागरिकहरु माथि उत्साह छाएको थियो । तर समाचार गलत साबित भएपछि उनीहरुमा समेत निराशा छाएको छ ।
‘कसरी आयो हामी सुरुदेखि नै अचम्ममा परेका थियौं, लकडाउन भन्ने, सामाजिक दूरीको नियम अनुकरण गर्नुस् भन्ने अनि बसमा कोचाकोच गरेर मानिसहरु काठमाडौं बाहिर लाने ?’ प्रधानमन्त्री निवास बालुवाटार निकट स्रोतले न्यूज २४ लाई भन्यो ‘आफैमा विरोधाभासपूर्ण विषयमा सरकारले निर्णय गर्दैन, यो भ्रमपूर्ण समाचार कसरी चुहियो त्यस्को खोजी हुने नै छ ।’
यो अवस्थामा काठमाडौं उपत्यका छाड्न दिने हो भने काठमाडौंमा रहेका सरकारी र निजी सवारी साधनहरुले थेगिनसक्ने अवस्था आउने पक्का छ । तर गाउँगाउँमा कोरोना भाइरसविरुद्ध अनुशासन बनाएर बसेको समाजमा यो निर्णयले उथलपुथल ल्याउने पक्का थियो ।
सीमामा र विदेशमा हजारौं नेपाली नागरिकलाई रोकेर काठमाडौं उपत्यकाको नागरिकलाई मात्र यो सुविधा दिंदा सरकारको तीब्र आलोचना हुने पक्का थियो । तर सरकारले यस विषयमा तत्काल प्रष्ट पारेर आलोचनाबाट पनि समयमा नै बचेको पनि विज्ञहरुले बताएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता