बारामा क्वारेन्टाइन सुरक्षार्थ खटिएका २ सैनिकसहित थप ५ जनामा कोरोना पुष्टि


बारा, १३ जेठ । बारामा क्वारेन्टाइनको सुरक्षार्थ खटिएका नेपाली सेनाका  दुई जना जवानसहित पाँच जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
पचरौता नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनको सुरक्षार्थ खटिएका ती सैनिकसँगै सोही क्वारेन्टाइनमा बस्दै आएका अन्य तीन जनामा पनि कोरोनासंक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।
सैनिकमध्ये एक जनाको ३५ र अर्कोको ३७ वर्ष उमेर रहेको पण्डितले जानकारी दिनुभयाे । क्वारेन्टाइनमा बस्नेहरु र दुई सैनिकको एक हप्ता अघि स्वाब संकलन गरी काठमाडौं पठाइएकोमा मंगलवार रिपोर्ट आएको हो ।
आज संक्रमण पुष्टि भएकामध्ये तीन जनालाई जिल्ला अस्पताल कलैया र दुई जनालाई वीरगञ्जस्थित गण्डक अस्पतालको आईसोलेसनमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरिक्षक कृष्ण प्रसाद पंगेनीले जानकारी दिनुभयो ।
यससँगै बारामा कूल संक्रमितको संख्या ४१ पुगेको छ । दुई जना उपचारपछि निको भएर घर फर्किएका छन् भने एक जनाको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता