नेपालमाथि भारतको दादागिरी : नमिचिएको गाँउ छैन, नहेपिएको ठाउँ छैन

काठमाडौं, ११ बैशाख । नेपालको २६ जिल्ला भारतीय सीमासँग जोडिएका छन् । र, नेपाल भारतबीच १ हजार ८ सय ८० किलोमिटर सीमारेखा छ । त्यसमध्ये २३ जिल्लामा सीमा विवाद छ । धनुषा, बैतडी र डडेलधुरामा मात्रै विवाद छैन ।
नेपाल–भारत सीमारेखाको ७१ स्थानमा अतिक्रमण, मिचान र वादविवाद छ । र, यस्तो विवादित क्षेत्रफल ७९ हजार ६ सय ४२ हेक्टर हुन्छ । यीमध्ये कालापानी, लिम्पियाधुरा क्षेत्रमा ३६ हजार, नवलपरासीको सुस्तामा १४ हजार र अन्य जिल्लामा ९ हजार हेक्टर जमिन भारतीय पक्षबाट अतिक्रमित भएको छ ।



कुन जिल्लामा कति अतिक्रमण ?
ताप्लेजुङ : टिम्बापोखरी, काबेली–लामेखोला, काब्रु पहाड र तुम्लिङबस्ती (२ हजार २० हेक्टर)

पाँचथर : अहलगैरी र चिवाभाज्याङ (११४ हेक्टर)
इलाम : पशुपतिनगर, फाटक, मानेभञ्याङ, सन्दकपुर (८२ हेक्टर)
झापा : कारोबारी, पाठामारी, महेशपुर, भद्रपुर, कालीखज्जर, भान्साखोला, नकलबन्दा, बाहुनडाँगी (१७४ हेक्टर)
मोरङ : बुद्धनगर, बहुका चेप्राहा, सोनापुर दोरिया (३५ हेक्टर)
सुनसरी : कटैया–भन्टावारी, शिवगन्ज पकरिया र साहेवगन्ज (४३ हेक्टर)
सप्तरी : सुवर्णपट्टी, बारदाही, सखडा छिन्नमस्ता, लालपट्टी–गोविन्दपुर, कुनौली, विष्णुपुर–शिवनगर, गोबरगाडा (१७५ हेक्टर)
सिरहा : माडर–चन्द्रगन्ज र टाँडी (११ हेक्टर)
महोत्तरी : सम्सी र शिसवा–कटैया (१४ हेक्टर)
सर्लाही : त्रिभुवनबस्ती र सङग्रामपुर (१२ हेक्टर)
रौतहट : गौर–जमुना (१५ हेक्टर)
बारा : दक्षिण झित्कैया (३० हेक्टर)
पर्सा : ठोरी, लक्ष्मीपुर–पिपरा, दसौता, मितेरी पुल, अहिर टोल, इनरुवा–चमार टोल (२३३ हेक्टर)
चितवन : बाल्मीकि आश्रम र दारनाला दारीचुरे (१७४ हेक्टर)
नवलपरासी : सुस्ता ३३ हजार ४८० हेक्टर
रुपन्देही : मर्चवार र बेलहिया (५५ हेक्टर)
कपिलबस्तु : कृष्णनगर बजार (१ हेक्टर)
दाङ : कोइलाबास (२५ हेक्टर)
बाँके : होलिया र नैनापुर (५१ हेक्टर)
बर्दिया : नकुवानाला, खैरीगाउँ गेरुवा, चौगुर्जी (२१ हेक्टर)
कैलाली : फूलबारीगाउँ, कौवाखेदा, कुसुमघाट, राजपुर (२६६ हेक्टर)
कञ्चनपुर : ब्रम्हदेवमण्डी, टनकपुर ब्यारेज, शारदा ब्यारेज, बनबासा–गड्डाचौकी, शुक्लाफाँटा, भुदगाउँ र परासन (१ हजार ६ सय ११ हेक्टर)
दार्चुला : कालापानी, लिम्पियाधुरा र लिपुलेक (३७ हजार हेक्टर)

भारतले नेपालतर्फको सीमा क्षेत्रमा ४५ हजार सुरक्षाकर्मी तैनाथ गरेको छ । प्रत्येक एक किलोमिटरमा २५ जना सुरक्षाकर्मी छन् । नेपालले पनि पछिल्लो सीमा सुरक्षाका लागि सीमामा सुरक्षाकर्मीको उपस्थिति बढाउने नीति लिएपनि लक्ष्य अनुरुप बीओपी स्थापन हुन सकेको छैन ।
सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरीका अनुसार ९ वटा जंगे पिलर र २८ वटा मुख्य स्तम्भ हराएका छन् । ती सबै भारततर्फका हुन् । कतिपय प्राकृतिक प्रकोपका समयमा हराएका भएपनि अधिकांश सीमास्तम्भ भारतीय पक्षले रातारात उखेलेर फ्यालेका हुन् । स्तम्भ नै नहुँदा सीमा विवाद हुने नै भयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता