नरैनापुरकाे स्थिति नियन्त्रणबाहिर, थप सुरक्षा र उच्चस्तरीय चिकित्सक टोली माग गरियाे

बाँके, ११ जेठ । बाँकेको नरैनापुर गाउँपालिकामा अहिले कोरोना भाइरस संक्रमित दिन-प्रतिदिन थपिँदै गएका छन् । जसले गर्दा यस क्षेत्रको स्थिति सम्हाल्न सक्नेभन्दा बाहिर पुगेको छ ।
एउटै गाउँपालिकामा ११४ जना कोरोना पोजेटिभ देखिएपछि यहाँका बासिन्दाहरू झनै त्रसित बनेका छन् । नरैनापुर गाउँपालिकाले कोभिड-१९ का कारण गाउँपालिकामा भयावह स्थिति हुन सक्ने भन्दै तत्काल उच्चस्तरीय चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न सरकारलाई आग्रह गरेको छ ।
गाउँपालिकाले क्वारेन्टाइनबाट समुदाय स्तरसम्म संक्रमण फैलिने र स्थिति भयावह हुने सम्भावना देखिएको भन्दै स्थिति नियन्त्रणभन्दा बाहिर जान नदिन बाँके प्रशासन मार्फत् नेपाल सरकार, प्रदेश सरकार, जिल्ला सुरक्षा समिति र कोभिड-१९ संक्रमण नियन्त्रण तथा व्यवस्थापन समिति बाँकेको ध्यानाकर्षण गराउँदै यस्तो आग्रह गरेको हो ।
स्थिति नियन्त्रण बाहिर जाने अवस्था देखिएकाले उच्चस्तरीय चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताउनुभयो ।
संक्रमित र उनीहरुका परिवारलाई केही व्यक्तिहरुले उक्साउने र कोरोना भाइरसबारे भ्रम सिर्जना गरी स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीलाई असहयोग गर्ने, मनोबल कमजोर पार्ने र संक्रमित भगाउने जस्ता क्रियाकलाप गरिरहेकाले संक्रमण समुदाय स्तरमै फैलिन सक्ने गाउँपालिकाको ठहर छ ।
file photo
प्रदेश ५ कै पिछडिएको क्षेत्र नरैनापुर गाउँपालिकामा शिक्षा र चेतनाको कमीका कारण कोभिड-१९ प्रतिको धारणा र अन्धविश्वासले पनि समस्या निम्त्याएको प्रमुख प्रशासकीय अधिकृत खरालले ध्यानाकर्षण पत्रमा उल्लेख गर्नुभएको छ ।
भारतका कोरोना अति प्रभावित क्षेत्रहरुबाट अझै हजारौं मानिस आउन सक्ने भएकाले जोखिम झन् बढ्न सक्ने गाउँपालिकाको ठहर छ । नरैनापुरमा हालसम्म १ सय १४ जनामा संक्रमण पुष्टि भइसकेको छ भने एक जनाले कोभिडकै कारण ज्यान गुमाएको अवस्था छ ।
शनिबार मात्र थप २७ जनामा कोरोना पुष्टि भएको नरैनापुरमा शुक्रवार १३ जना कोरोना पोजेटिभ देखिएका थिए । उनीलाई लिन गएको एम्बुलेन्सलाई स्थानीयले घेरेर संक्रमित व्यक्तिलाई भगाएका थिए । प्रहरीले थप प्रहरी परिचालन गरी संक्रमित व्यक्तिलाई समात्न सफल भएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता