विराटनगरको कोभिड १९ उपचार केन्द्रमा उपचाररत ३१ संक्रमितमा गम्भीर समस्या देखिएन


विराटनगर, २० वैशाख । विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा ३१ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।
उनीहरुमा अहिलेसम्म कोरोना सम्बन्धी कुनै गम्भीर समस्या देखा नपरेको र कुनै समस्या पनि नभएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट संगिता मिश्रले जानकारी दिनु भयो ।
उहाँले संक्रमितहरु सामान्य अवस्थामा रहेको र रेगुलर स्वास्थ्य परीक्षण गरिरहेको बताउनु भयो ।
उदयपुरवाट पहिलो पटक आएका संक्रमितहरु १२ जनाको उपचार सुरु भएका १६ दिन भइसकेको छ । उनीहरुको पुनः परीक्षणको लागि स्वाब संकलन गरेर कोशी अस्पतालको ल्याबमा लगिएको छ भने स्वाबको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जानकारी दिएको छ । उनीहरुको स्वाव परीक्षणबाट नेगेटिभ रिपोर्ट आएमा पुनः २४ घण्टामा परीक्षण गरिने र फेरि पनि नेगेटिभ आएमा संक्रमितहरुलाई डिष्चार्ज गरिने तर उनीहरुको रिपोर्ट पोजिटिभ आएमा पुनः उपचार सुरु गरिने कोभिड १९ उपचार केन्द्रका कन्सल्टेन्ट वरिष्ठ फिजिसियन डाक्टर दिपक सिग्देलले जानकारी दिनु भयो ।
उपचार भइरहेका संक्रमितहरुको घण्टा घण्टामा ज्वरो नाप्ने र स्वासप्रस्वास साथै कुनै किसिमको लक्षण देखा परे नपरेको हेरिने गरिएको अस्पतालले जानकारी दिएकोछ ।
एक जना डाक्टरको साथमा ५ जना स्वाथ्यकर्मीहरुको टोली संक्रमितको उपचारमा खटिएका छन् । अहिलेसम्म कोही पनि सिकिस्त संक्रमित नभएकाले र उनीहरुको अवस्था सामान्य रहेकाले डराइहाल्नु पर्ने अवस्था नरहेको डाक्टर सिग्देलले जानकारी दिनु भयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता