झापामा सीमामा खटिएका प्रहरीमाथि भारतीयको आक्रमण, एक जवान घाइते


झापा, २१ वैशाख । नेपाल–भारत सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमाथि भारतीय नागरिकले आक्रमण गरेका छन् । आक्रमणबाट नेपाल प्रहरीका एक जवान सामान्य घाइते भएका छन् ।
बोर्डर सिल भएको अवस्थामा आइतबार बिहान कचनकवल–४ स्थित खुट्टामनीबाट नेपाल प्रवेश गर्न खोज्ने करिब १५ जना भारतीय र सीमामा खटिएका नेपाल प्रहरीबीच विवाद भएको थियो । नेपालतर्फ खेती गर्न जान पाउनुपर्ने भन्दै जबरजस्ती गरेपछि प्रहरीले उनीहरुलाई लखटेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाबाट सीमामा खटिएका एक प्रहरी अधिकृतका अनुसार बिहान ५ बजे भारतीयहरू नेपाल प्रवेश गरेका थिए । १२० पिल्लर छेउमा खटिएका चार जना प्रहरीले उनीहरूलाई लखेट्न पुगे ।
सीमामा खटिएका एक प्रहरीका अनुसार प्रहरीको चार जना मात्र टोली थियो । थोरै टोली देखेर भारतीयले प्रहरीलाई झम्टिएका थिए । ‘नजिकै रहेको क्याम्पमा रहेका प्रहरी पनि आएपछि उनीहरु भागेका थिए’ ती प्रहरीले भने, ‘भाग्दा हँसिया पनि फाले, एक जना प्रहरीको हातमा सामान्य चोट लागेको छ ।’
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव निरीक्षक महेन्द्रकुमार श्रेष्ठले खेती गर्न भारतबाट आउने भारतीयका कारण सीमामा समस्या उत्पन्न भएको छ । प्रहरीले भारततर्फ सीमामा बस्ने एसएसबीसँग सहकार्य गरेर उनीहरूलाई भारत फर्काएको छ ।
दक्षिणी क्षेत्रका सीमामा रहेका भारतीयले नेपालतर्फ खेती लगाएका छन् । अहिले उनीहरू अधिकांशले लगाएको मकै पाक्ने वेला भएको छ । त्यही क्रममा भारतीय कृषकको टोली नेपाल प्रवेश गर्न खोजिरहेका छन् ।
न्युज२४बाट साभार गरिएकाे 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता