झापाको भारतीय सीमा क्षेत्रमा नेपालीको चाप, लुकिछिपी छिर्न थाले


झापा, २ जेठ । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण अलपत्र परेका नेपालीको चाप झापाको भारतीय सीमा क्षेत्रमा देखिन थालेको छ ।
गत मंगलबारदेखि भारतमा रेलसेवा सञ्चालनमा आएपछि विभिन्न शहरमा अलपत्र परेका नेपाली सीमावर्ती शहर तथा क्षेत्रहरुमा स्वेदश टेक्न पाउने आशमा बसेका छन् ।
भारतको पश्चिम बंगाल र बिहार राज्यका सीमावर्ती क्षेत्रमा नेपालीहरु घर फर्कन पाउने प्रतीक्षामा छन् । अध्ययन, रोजगारी र भ्रमणको सिलसिलामा भारतको विभिन्न स्थान पुगेका नेपाली लामो समयको लकडाउनका कारण समस्यामा परेपछि स्वदेशको सीमासम्म आइपुगेका हुन् ।
रेलको यात्रा र घण्टौँ हिँडेर सीमाक्षेत्र सम्म आइपुगेका कतिपय नेपाली सीमामा खटिएका सुरक्षाकर्मीको आँखा छलेर नेपाल आइसकेका छन् । खुल्ला सीमाका कारण मकैबारी र चोरबाटो हुँदै केहीदिनयता मात्रै १६ जना नेपाली नेपाल प्रवेश गरेका छन् ।
उनीहरुलाई सीमाक्षेत्रमा निर्माण गरिएको क्वारेन्टाइनमा राखेर परीक्षण समेत गर्न थालिएको छ । ‘दरबंगादेखि नेपाल आइपुग्न ४ दिन लाग्यो’ हाल झापा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका पाँचथरका सोमकुमार तामाङले भन्नुभयो, ‘हामी त राति छिरेका हौँ, धेरै नेपाली उतै अड्किएका छन् ।’
जिल्लामा भारतसँग सीमा जोडिएका मेचीनगर, भद्रपुर नगरपालिका र कचनकवल, झापा र गौरीगन्जमा गरी १६ वटा वडा छन् ।
भारतले रेल खोलिदिएपछि नेपाल आउन खोज्ने नेपालीका कारण चुनौती थपिएको स्थानीय जनप्रतिनिधी बताउछन् ।
‘खुला सीमा छ, लुकीछिपी आउनेको संख्या बढ्दै छ’ झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह भन्नुभयो, ‘न समयमा स्वास्थ्य परीक्षण गर्न सकिन्छ, न कसैको सहयोग छ, यस्तो अवस्थामा संक्रमण फैलने जोखिम बढ्यो ।’
यस अघि लकडाउनका बेला नेपालमा रहेका भारतीयलाई नेपाल सरकारले र भारतमा रहेका नेपालीलाई भारत सरकारले व्यवस्थापन गर्ने सहमति भएको थियो ।
लकडाउन बढ्दै जाँदा नेपाल प्रवेश गर्न खोज्ने नेपालीको चापलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय झापाले सीमापारि भारतमा अलपत्र नेपालीहरुको तथ्यांक संकलन सुरु गरेको छ ।
‘भारतपट्टि रहेका झण्डै १२ सय नेपाली सम्पर्कमा आइसकेका छन्’ झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले भन्नुभयो, ‘सरकारले आदेश दिनेबित्तिकै चरणबद्ध रूपमा उनीहरुलाई नेपाल प्रवेश दिने योजना छ ।’
उहाँका अनुसार सरकारबाट उनीहरुलाई प्रवेश दिन निर्देशन भएको खण्डमा आवश्यक व्यवस्थापनको तयारी भइरहेको छ । झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पस, भद्रपुरकै कलबलगुडी र मेचीनगर नगरपालिकाको आदर्श मावि आदि क्षेत्रका क्वारेन्टाइनको व्यवस्थापन भइसकेको छ ।
सीमावर्ती क्षेत्रमा आएर बसेका नेपालीहरुको व्यवस्थापनका लागि संघीय सरकारसँग आग्रह गरिसकिएको र निर्देशन हुनासाथ प्रवेश दिइने प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमत्री हिक्मत कुमार कार्कीले बताउनुभयो ।
‘अलपत्र परेका नेपालीलाई व्यवस्थित ढंगबाट प्रवेश दिन हामीले पनि चाहेका हौँ’ प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीले भन्नुभयो, ‘यस सन्दर्भमा सम्बन्धित निकाय र संघमा कुरा पनि राखिसकेका छौँ, अब उहाँहरुको निर्णयको प्रतीक्षा गरौँ ।’
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता