ताप्लेजुङ सदरमुकाम आगलागी : ७ करोड ६५ लाखको क्षति, २९ परिवार विस्थापित


ताप्लेजुङ, २१ वैशाख । शुक्रबार राति ताप्लेजुङ सदरमुकाम फुङ्लिङको ट्याक्सी स्टेसन छेउमा भएको आगलागीबाट ८ वटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट ७ करोड ६५ लाख ७२ हजार ७०० रुपैंया बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक संकलन गरिएको छ ।
कुल क्षतिमध्ये व्यक्तिगततर्फ ७ करोड ४३ लाख २५ हजार र संस्थागततर्फ २२ लाख ४७ हजार ७०० रुपैंया बराबर क्षति भएको छ ।
संकलित तथ्यांकअनुसार आगोले ७ वटा घर पूर्ण रुपमा जलेका छन् भने आगो फैलन नदिन आगो लाग्दै गरेको १ घर भत्काइएको छ । यससहित आगलागीबाट ८ घर पूर्ण रुपमा क्षति भएका हुन् । अन्य केही घरमा आशिंक क्षति भएको छ ।
श्रतिग्रस्त ८ घरमा रहेका २९ घर परिवारका मानिस विस्थापित भएका छन् । आगोले ६ वटा संस्थागत निकायहरुको कार्यालय तथा संरचनामा क्षति गरेको पाइएको क्षति विवरण संकलनमा संलग्न जिल्ला रेडक्रस सोसाईटीका मन्त्री विकास गौतमले जानकारी दिए ।
पीडितलाई राहत वितरण सुरु
ताप्लेजुङ सदरमुकाम फुङलिङका आगलागी पीडित परिवारलाई स्थानीय सरकार र विभिन्न सामाजिक संघ-संस्थाले राहत वितरण सुरु गरेका छन् ।
फुङलिङ नगरपालिकाले तत्कालका लागि अत्यावश्यक पर्ने दाल, चामल लगायतका खाद्यान्न सामग्री वितरण गरेको छ । नगरप्रमुख छत्रपति प्याकुरेलका अनुसार आगलागी प्रभावित हरेक परिवारलाई राहत स्वरुप २५ किलो चामल, २ किलो चिनी, २ लिटर खाने तेल, २ किलो नुन, ३ किलो आलु, २ किलो दाल र १ प्याकेट चिउरा वितरण गरिएको छ ।
यस्तै नगरपालिकाले पनि क्षतिको पुर्ण विवरण संकलनपछि मात्रै आफ्नो नियमअनुसार थप राहत प्रदान गर्ने भएको छ । यसअघि शनिबार बिहान नेपाल रेडक्रस जिल्ला शाखाले पाल, कम्बल लगायतका गैरखाद्यान्न सामग्री वितरण गरेको थियो ।
ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्था र न्यू कञ्चनजंघा सहकारी संस्थाले समेत केही नगद सहयोग गरेका छन् ।
पर्यटनमन्त्री भट्टराईद्वारा दुःख व्यक्त
आगलागीको घटनाप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले दुःख व्यक्त गरेका छन् ।
मन्त्री भट्टराईले शनिबार नै विज्ञप्ति जारी गर्दै आगलागीबाट भएको भौतिक संरचना तथा धनमालको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई तत्काल उद्धार र राहतको प्रबन्ध मिलाउन स्थानीय प्रशासन र स्थानीय तहलाई अनुरोध गरेका हुन् ।
मन्त्री भट्टराईले सरकारको तर्फबाट प्रदान गरिने पुनःस्थापनाका लागि आफ्नो तर्फबाट आवश्यक पहल गर्ने पनि जानकारी गराए ।
यता ताप्लेजुङ निर्वाचन क्षेत्र नं ख बाट निर्वाचित प्रदेश सांसद टंक आङ्बुहाङले समेत विज्ञप्ती जारी गर्दै पीडितहरुको पुनःस्थापनाका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता