पर्वतमा ३ घर पहिरोले बगायाे : ३ जनाकाे मृत्यु, ६ जना वेपत्ता

पर्वत, ३२ जेठ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङमा गए राती गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । अन्य छ जना भने वेपत्ता छन् । शनिबार भीषण वर्षा सहित खसेको पहिरोले स्थानीय तुलबहादुर थापा र कमला विकको घर पुरेको थियो ।
पहिरोमा पुरिएर ५२ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी र १० वर्षीया नातिनी बिबिशाको मृत्यु भएको हो । सोही घरका १४ वर्षीय सम्राट थापा, ३० वर्षीया दिर्पा थापा र १७ वर्षीय विवेक थापा बेपत्ता छन् ।
बेपत्ता रहेका अन्य तीनजनामा ३२ वर्षीया कमला विक, उनका छोरा १६ वर्षीय जेनिस र छोरी सात वर्षीया प्रमिशा रहेका छन् ।
राती वर्षा भएको र अध्यारोका कारण खोजी कार्य गर्न कठिन भएकाले बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सक्रियतामा खोजीकार्य जारी राखिएको अध्यक्ष पाध्याले बताए । राती १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मि फर्किएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी विश्वराज अधिकारीले राति दुई बजेसम्म खोजी गर्दा तीन जनाको शव भेटिएका र बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको टोली उद्धारमा खटिएको जानकारी दिनुभयो ।
शनिवार साँझ ६ बजे देखि झण्डै दुई घण्टा आएको मुसलधारे पानी पछि पहिरो गएको हो । पहिरोले उनिहरुका घरमा रहेका अन्य पशूचौपाया समेत मरेका छन् । स्थानीयका अनुसार झण्डै तीन सय मिटर भन्दा माथिवाट पहिरो आएको छ ।
न्युज२४बाट साभार गरिएकाे
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता