आज राष्ट्रिय धान दिवस, रोपाइँ महोत्सव एवं दहीचिउरा खाने दिन


काठमाडौँ, १५ असार । आज असार १५, यसदिन नेपालमा परम्परागत रूपमा दहीचिउरा खाने दिनका रूपमा मनाइन्छ । आजकै दिन सरकारले राष्ट्रिय धान दिवस तथा कृषकहरूल राेपाइँ महाेत्सव/राेपाइँ जात्राका रूपमा मनाउने गरेका छन् ।
मानो रोपेर मुरी फलाउने महिनाको मध्यमा पर्ने असार १५ काे नेपालमा विशिष्ट महत्व छ । कृषिप्रधान देश भएकाका कारण तथा प्रायः देशैभर धानखेती र राेपाइँ हुने अनि यस समय कृषकहरूकाे व्यस्तता र माहाैल नै अर्कै हुने गरेकाले पनि असार १५ विशेष मानिन्छ ।
तर यस वर्ष भने काेराेना भाइरस (काेभिड १९) महामारीका कारण दिवस र महाेत्सवका औपचारिक कार्यक्रम भने राखिएका छैनन् । सरकारले आज १७ औँ राष्ट्रिय धान दिवस सामान्य औपचारिकताका साथ मनाउने भएकाे छ । सरकारले यस वर्ष धान दिवसकाे नारा ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ तय गरेकाे छ ।
तर कृषकहरूमा भने काेभिड महामारीकाे सन्त्रासकाे बीच पनि राेपाइँ अर्थात् धान राेप्ने कार्यकाे राैनक खासै घटेकाे छैन । यस वर्ष समयमै मनसुनी वर्षा समेत भएकाे र अधिकांश युवाहरू समेत गाउँघर फर्किएका कारण किसानहरूलाइ राेपाइँमा सहज भएकाे छ ।
नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुनेगर्दछन् । कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइन्छ ।
दही-चिउराकाे महत्व
आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोप्ने र दही-चिउरा एवं फलफुल र मिष्ठान्न खाने चलन पुरानै हाे ।  मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही-चिउरा खाँदै अानन्द लिन्छन् ।
आजको दिन किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने गर्दछन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउने गर्दछन् ।
हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । दही खुवाएर बिदा गरे शुभ प्राप्त हुने सांस्कृतिक मान्यता छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता