आज २०७ औँ भानुजयन्ती, भानुभक्तको काव्यिक योगदानको स्मरण गरी मनाइँदै


काठमाडाैँ, २९ असार । नेपाल भाषाका आदिकवि भानुभक्त आचार्यकाे आज २०७ औँ जन्मजयन्ती हाे । प्रत्येक असार २९ गतेका दिन उनकाे सम्झनामा ‘भानुजयन्ती’ मनाउने गरिन्छ ।
भानुकाे सम्झना यस दिन विभिन्न कवि गाेष्ठी तथा साहित्यिक कार्यक्रमहरु र महाेत्सवहरू आयाेजना गरी मनाइने गरेकाेमा यस वर्ष भने काेराेना महामारीका कारण खासै गतिविधि छैन । तर काव्यानुरागी र भाषासेवीहरूले भानु याेगदानकाे स्मरण गरी श्रद्धापूर्वक उनकाे जन्मजयन्ती मनाउँदै छन् ।
विसं १८७१ मा असार २९ गतेका दिन हाल तनँहु जिल्लाको चुँदी रम्घा भन्ने ठाँउमा भानुभक्तकाे जन्म भएकाे थियाे । उनले नेपाली भाषामा रामायण लेखेर नेपाली भाषालाई गुन लगाएका थिए । उनकाे साे लाेकप्रिय कृतिले नेपालीहरुकाे मनमनमा स्थान बनाएकाे र नेपाली भाषा समृद्ध हुँदै गएकाे रुपमा उनलाई स्मरण गर्ने गरिन्छ । आचार्यको विसं १९२५ असोज ६ गतेका दिन निधन भएको थियो ।
नेपाली भाषाका आदिकविकाे उपाधि पाएका भानु तत्कालीन समयका हुनेखाने परिवारमै जन्मेका थिए । उनले भावनाको मर्मलाई नेपाली भाषा र शब्दको मानचित्रमा अभिब्यक्ति दिएकै आजपर्यन्त अमर छन् । संस्कृत रामायणकाे नेपाली भावानुवादक रहेका भानुभक्तलाई कवि मोतिराम भट्टले पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए भने उनकै पहलमा भानुकाे चर्चा चुलिएकाे हाे ।
भानुले प्रश्नोत्तर (वि.सं. १९१० ), भक्तमाला (वि.सं. १९१०), वधूशिक्षा(वि सं १९१९०) लगायतका कृतिहरू लेखेका छन् । उनका पाण्डुलिपिलाई संग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका हुन ।
भानु नगरमा बिदा
यसैबीच, भानुभक्तकाे जन्मस्थल रहेकाे तनहुँको भानु नगरपालिकाले भानुजयन्तीका अवसरमा अाज सार्वजनिक बिदा दिएकाे छ । नेपाली भाषाका धरोहर भानुभक्त आचार्यको सम्मानस्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिएकाे बताएकाे छ ।
नगरपालिकाले गत वर्षदेखि भानुजयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णयलाई यस वर्ष पनि निरन्तरता दिइएको नगरपालिकाका वरिष्ठ अधिकृत एवं सूचना अधिकारी सुनिल पाण्डेले बताएका छन् । उनका अनुसार साेमबार नगरपालिकास्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, वडा कार्यालयहरू बन्द रहनेछन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता