पश्चिम म्याग्दीमा पहिरोमा परी २० जना सम्पर्कविहिन


 म्याग्दी, २६ असार । गएराति अविरल वर्षापछि गएकाे पहिराेमा परी पश्चिम म्याग्दीका विभिन्न स्थानमा कम्तिमा २० जना  सम्पर्कविहिन भएका छन् ।
शुक्रबार विहान भीषण वर्षासँगै आएको बाढीले मालिका गाउँपालिका–७ बिममा ८ जना बेपत्ता भएका छन् । वडा अध्यक्ष सुविन जुग्जालीले भन्नुभयाे, ‘पहिरोले ८ जना बेपत्ता भएको खवर छ, थप उद्धारको प्रयास भइरहेको छ’
जुग्जालीका अनुसार पहिरोले घर पुरिएपछि बिमको दुले भन्ने ठाउँमा विष्णु शर्मा र उनकी छोरी इच्छा शर्मा बेपत्ता भएका छन् । त्यस्तै नैरुङमा एलिसा शर्मा, मालिकाथानको तल्लो गाउँमा बिमला नेपालीको आमाछोरा, बिरबहादुर नेपाली सहित चारजनाको परिवार बेपत्ता भएका छन् । जोखिममा रहेकालाई सुरक्षित स्थानमा पठाउने प्रयास भइरहेको छ ।
त्यस्तै धवलागिरी गाउँपालिका–६, मराङको रिखा भन्ने ठाउँमा कम्तिमा ११ जना बेपत्ता भएको अनुमान गरिएको छ । मराङको घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना वेपत्ता भएको वडा अध्यक्ष राजाराम शर्मा जानकारी दिनुभयाे ।
मराङमा बेपत्ताको संख्या ११ सम्म पुग्ने अनुमान गरिएको छ । पहिरोले आवतजावत गर्ने सम्पूर्ण मार्गहरु बन्द भएपछि पहिरोमै अलपत्र परेकाको उद्धारको प्रयास भइरहेको वडा अध्यक्ष शर्मा बताए ।
इलाका प्रहरी कार्यालय दरबाङबाट गएको टोली पहिरोले बाटो अवरुद्ध भएपछि बाटोमै अलपत्र परेको छ भने स्थानीयले उद्धारको प्रयास गरिएको प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले जिल्लाभरबाट पहिरोको जानकारी लिने प्रयास भइरहेको बताउनुभयाे ।
मराङमा बेपत्ता हुनेमा धनबहादुर जुग्जाली र भिम जुग्जालीका ७ जना रहेको छन्। हालसम्म बेपत्ता १० जनाको नाम प्राप्त भएपनि खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
मराङकै कल्लेनीको घारखोलामा आएको बाढीले परदेवी र वीरबहादुरपुनको घर बगाएको छ । म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले बेनी–जोमसोम सडक जोड्ने बेलिब्रिज बगाएको छ । गएराती अविरल वर्षापछि आएको बाढीले गलेश्वर–पिप्ले जोड्ने बेलिब्रिज बगाएको हो ।
बेलिब्रिजसँगै गलेश्वर पारीको बस्ती नै नदी कटानको उच्च जोखिममा परेको छ । बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउपालिका–३ राहुघाटको सिमानामा पर्ने पुल बगाएसँगै रघुगंगा र अन्नपूर्ण गाउँपालिका सहित मुस्ताङ आवतजावत गर्ने सडकमार्ग सम्पर्क विच्छेद भएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता