सप्तकोशीमा पानीको बहावले खतराको तह पार गर्‍यो, तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह


सुनसरी, ६ साउन । सप्तकोशी नदीमा आज बिहान यस वर्षकै उच्च बहाव मापन गरिएको छ ।
मंगलबार बिहान ६ बजे गरिएको मापनअनुसार सप्तकोशीको ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९९० क्युसेक पुगेको छ । यो वर्षकै उच्च मापन हो ।
ब्यारेज प्रशासनका अनुसार सप्तकोशीमा २ लाख क्युसेक प्रतिसेकेन्डभन्दा पानीको वहाबको स्तर माथि पुगे खतरा मानिन्छ ।
अविरल वर्षाका कारण पहाडी क्षेत्रबाट बगेर आउने सहायक नदीमा बाढी आएपछि सप्तकोशीमा पानीको वहाव बढेको हाे । पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएका छन् ।
जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशीमा बहाव बढ्दो क्रममा रहेको जनाएको छ । कोसीको बहावले खतराको सतह पार गरेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ ।
उनीहरुलाई नदी किनाराकाे बस्तिमा नबस्न सूचित  गराइएकाे छ । कोसीमा अत्यधिक बहाब भएसँगै बस्तीका घर घरमा पानी पस्न थालेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता