एकै दिन थप १२ को मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ९५ पुग्यो

काठमाडौं, १२ भदौ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ सय ९१ पुगेको हो ।

तथ्यांक अनुसार सुनसरीको धरानमा ३, चितवनमा २, मोरङ, रुपन्देही, मकवानपुर र भक्तपुरमा एक÷एक जनाको मृत्यु भएको हो । चितवनको भरतपुर महानगर २ क्षेत्रपुर बस्ने ५१ वर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

File Picture

स्वासप्रश्वासमा समस्या भएर भदौ ५ गते भर्ना भएका पुरुषको पुष्पाञ्जली अस्पतालमा आज विहान १० बजे निधन भएको अस्पतालले जनाएको छ । चितवन मेडिकल कलेज (सीएमसी)मा उपचाररत हेटौंडा १९–की ७१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको छ ।

स्वासप्रश्वास सम्बन्धी समस्याका कारण भदौ ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि आएकी महिलामा भदौ ८ गते संक्रमण पुष्टि भएको थियो । यसै गरी रुपन्देहीमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा ४ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । भेन्टिलेटरमा उपचार भइरहेका ती संक्रमितको गएराति साढे २ बजे मृत्यु भएको हो । भदौ ७ गते अस्पतालमा भर्ना भएका उनमा उच्च रक्तचापको समस्या पनि थियो ।

यस्तै, भक्तपुरमा मृत्यु भएकी ६२ वर्षीया महिलामा कोरोना देखिएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि लैजाने क्रममा मृत्यु भएकी महिलामा आज विहान कोरोना संक्रमण पुष्टि भएको हो । उनी उच्च रक्तचापको बिरामी रहेको अस्पतालले जनाएको छ ।

यसैबीच, विराटनगरस्थित कोशी अस्पतालमा सिरहाको लहानकी ६५ वर्षीया महिलाको आज विहान मृत्यु भएको छ । फोक्सोमा समस्या भएर उनी गत बिहीबार अस्पताल पुगेकी थिइन् । यस्तै, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

झापा, मोरङ र सिरहाका कोरोना संक्रतिमको मृत्यु भएको हो । झापाको दमक नगरपालिका ३ का ८३ वर्षीय वृद्धको आज विहान पौने ४ बजे उपचारका क्रममा मृत्यु भएको छ ।

भदौ ३ गते कोरोना पुष्टि भएदेखि उनी प्रतिष्ठानमा उपचाररत थिए । दुवै मृगौला फेल भएर लामो समयदेखि डायलासिस गराइरहेका उनी उच्च रक्तचाप र मधुमेहका पनि दीर्घ रोगी रहेको प्रतिष्ठानले जनाएको छ ।

यस्तै मोरङको बेलबारी नगरपालिका–५ की ५६ वर्षीया महिलाको आज विहान सवा ३ बजे मृत्यु भएको छ । उनमा भदौ ९ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।

पहिला कोशी अञ्चल अस्पताल पुगेकी ती महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि प्रतिष्ठानमा रिफर गरिएको थियो । यसैबीच, प्रतिष्ठानमै उपचारका क्रममा रहेका सिराहाका ५५ वर्षीय पुरुषको बिहीबार बेलुकी मृत्यु भएको छ ।

भदौ ६ गते प्रतिष्ठानमा भर्ना भएका सिराहा नगरपालिका १ का पुरुषमा भदौ ७ गते कोरोना पुष्टि भएको थियो । उच्च रक्तचापका विरामी समेत रहेका उनलाई अवस्था जटिल भएपछि दुई दिनदेखि आइसीयुमा राखेर उपचार गरिएको थियो ।

न्युज२४ नेपाल बाट साभार गरिएकाे


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment