सिक्किममा कोभिड संक्रमणको प्रबन्धनको सम्बन्धमा आयुषको भूमिकाबारे अन्तरकृया


सिक्किम, १२ भाद्रः भारत सरकारको सूचना एवं प्रसारण मन्त्रालय अन्तर्गत क्षेत्रीय लोक सम्पर्क कार्यालय (आरओबी) सिलगढी तथा स्थलगत लोक सम्पर्क कार्यालय, गान्तोकद्वारा संयुक्त रूपमा “कोभिड १९ (कोरोना भाइस)को प्रबन्धनमा आयुषको भूमिका”बारे अन्तरकृया आयोजन गरियो। 

अन्तरकृया कार्याक्रममा  सहभागीहरूलाई स्वागत जनाउँदै पीआइबी एवं क्षेत्रीय लोक सम्पर्क कार्यालयकी एडीजी जेन नाम्चूले यस महामारीको स्थितिमा बद्लिँदो नियमावलीसँगै के गर्ने र  के नगर्ने विषयमा पनि परिवर्तन आइरहेको हुँदा ती सबै कुराबारे जनसाधारणलाई पनि सजग गराई सचेत गराउन आवश्यक रहेको बताइन्। यसै कारण यस प्रकारको अन्तरकृया कार्याक्रमहरु नियमित रूपमा आयोजन गरी विषयलाई सम्बोधित गर्ने प्रयास चलिरहेको उनले बताइन्। कर्याक्रममा सम्वोधन गर्दै आयुष सिक्किम मिशनकी राज्य कार्यक्रम अधिकारी एवं संयुक्त निर्देशिका डा. कर्मछादेन भोटियाले यस कोरोना महामारीले फैलाएको त्रास र भयबाट जनसाधारणलाई राहत दिलाउन व्यापक सूचना एवं शिक्षा अभियान चलाइरहेको जानकारी दिइन्। 

सिक्किममा आयुष केन्द्रहरूलाई एकान्तबास केन्द्रमा परिणत गर्नका अतिरिक्त शरीरको प्रतिरोधक क्षमता बढाउन स्थानीय रूपमा पाइने वस्तुहरूको उपयोगका साथै तनाउको व्यवस्थापन विधिबारे जनसाधारणलाई जागरूक गराउने पहल आयुष सिक्किमले गरिरहेको जानकारी पनि उनले दिइन्। सिक्किममा आयुष मिशन सोझै संलग्न नभए तापनि आयुषको दिशानिर्देशमा निर्दिष्ट प्रतिरोध क्षमता बढाउने सामग्री राज्यको निषेध क्षेत्रमा वितरण गरिरहेको डा. भोटियाले अवगत गराइन्। 

आयुर्वेद चिकित्सा प्रणालीमा उपलब्ध विभिन्न रोकथाममूलक उपायका साथमा क्वाँतहरूबारे जानकारी दिँदै क्षेत्रीय आयुर्वेद शोध संस्थानका सहायक निर्देशक डा. श्रीप्रकाशले नित्य दिनचर्या पालन गर्नका साथमा प्रशस्त मात्रामा मनतातो पानी पिउनाले सङ्क्रमणको खतरा धेरै घटाएर लैजाने जानकारी दिए। यसका साथै दैनिक आधा घण्टा जस्तो योग तथा प्राणायाम गर्नका अतिरिक्त पर्याप्त मात्रामा सामान्य रूपमा घरमा प्रयोग गरिने मसलाहरू उपयोग गर्दा पनि प्रतिरोधक क्षमता बढाउन मद्दत मिल्ने उनले बताए। 

यसै गरी यहाँ प्रशस्त मात्रामा पाइने जडीबुटीको समुचित उपयोगबारे जनसाधारणलाई जागरूक गराउँदै यसलाई बढावा दिइए, यसले राज्यको अर्थनीतिका साथै जनमानसको स्वास्थ्यलाई टेवा पुऱ्याउने उनले आशय व्यक्त गरे। सिक्किममा क्षेत्रीय आयुर्वेद शोध संस्थानको मुख्यालयका अतिरिक्त ट वटा उप(केन्द्रले राज्यमा जागरूकता फैलाउनका साथै प्रतिरोधक क्षमता बढाउने आयुर्वेद औषधिहरू व्यापक रूपमा वितरण गरिरहेको पनि डा। श्रीप्रकाशले जानकारी दिए। 

युथ डेभेलपमेन्ट सोसाइटी अव् सिक्किमका कार्यकारी सचिव मणिकुमार गुरुङले यस अवसरमा राज्य प्रशासनका साथै नागरिक समाजका अन्य सदस्यहरूसँग मिलेर यस महामारीको स्थितिमा जनजागरूकता फैलाउन गरिएको कामबारे आफ्नो अनुभव साझा गरे। 

वेबिनारको सञ्चालन समय दैनिकका सम्पादक दिल्लीराम दुलालले गरेका थिए भने अन्त्यमा धन्यवाद ज्ञापन स्थलगत लोक सम्पर्क कार्यालयका लोदेन लेप्चाले प्रस्तुत गरे। यस वेबिनारमा राज्यका पत्रकार अनि एनजीओका सदस्यहरूका अतिरिक्त पत्र सूचना कार्यालय तथा क्षेत्रीय लोक सम्पर्क कार्यालयका स्थल अधिकारीहरूले पनि सहभागिता जनाए।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment