ब्राजिललाई पछि पार्दै कोरोना संक्रमितको लहरमा भारत दोस्रो स्थानमा, दैनिक संक्रमित ९१ हजार

काठमाडौँ, २२ भदाै । भारतमा पछिल्लाे समय दिनानुदिन कोरोना भाइरस संक्रमणकाे ग्राफ उकालाे लागिरहेकाे छ । डरलाग्दाेगरी उक्लिरहेकाे याे ग्राफ हेर्दा विश्वकै महामारी केन्द्र अब भारत बनेकाे हाे कि भन्ने भान हुन्छ । यद्यपि अहिलेसम्म सबैभन्दा बढी संक्रमित रहेकाे देश अमेरिका छ, भारत दाेस्राे स्थानमा पुगेकाे छ । तर दैनिक संक्रमणका केस नियाल्दा भने भारत पहिलाे स्थानमा छ ।

भारतमा आइतबार एकैदिन हालसम्मकै बढी ९१ हजार ७२३ संक्रमित फेला परेकाे विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डाेमिटर्सले जनाएकाे छ । शनिबार पनि त्यहाँ एकैदनि ९० हजार ६०० संक्रमित फेला परेका थिए । लगातार बढिरहेकाे याे दैनिक संक्रमित संख्या भारतभर मात्र नभएर विश्वमै अहिलेसम्मकै सर्वाधिक संख्या हाे ।

तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमित हुनेको कुल संख्या ४२ लाख २ हजार ५६२ पुगेकाे छ । आइतबार नै भारतले ब्राजिललाइ समेत उछिनेर सर्वाधिक संक्रमित हुनेकाे लहरमा दाेस्राे स्थानमा उक्लिएकाे हाे । हाल सर्वाधिक संक्रमित अमेरिकामा रहेका छन्, त्यहाँ कुल ६४ लाख ६० हजारभन्दा बढी मानिस संक्रमित पुष्टि भएकाे छ । ब्राजिलमा भने कुल ४१ लाख ३७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । अमेरिका र ब्राजिलमा आइतबार दैनिक संक्रमितकाे संख्या क्रमशः ३१ हजार ११० र १४ हजार ६०६ रहेकाे छ ।

भारतमा संक्रमित बढेसँगै मृत्यु हुनेकाे संख्या पनि बढिरहेकाे छ । त्यहाँ काेराेनाकै कारण आइतबार १ हजार ८ जनाकाे मृत्यु भएकाे छ । शनिबार पनि १ हजार ४४ जनाले ज्यान गुमाएका थिए । यससँगै भारतमा काेराेनाका कारण ज्यान गुमाउने कुल संख्या ७१ हजार ६८७ पुगेको छ ।

भारतमा निको हुनेको दर पनि उत्तिकै बढिरहेकाे छ । आइतबार एक दिनमा त्यहाँ ६९ हजार ६२४ जना संक्रमणमुक्त भएका छन् ।  शनिबार पनि एकैदिन त्यहाँ ७३ हजार १६१ जना संक्रमित कोरोनामुक्त भएका थिए । यससँगै हालसम्म भारतमा कुल संक्रमितमध्ये ३२ लाख ४७ हजार २९७ जना कोरोनामुक्त भएका छन् भने ८ लाख ८३ हजारभन्दा बढीमा भाइरस सक्रिय छ ।

भारतीय स्वास्थ्य मन्त्रालयकाे तथ्यांक अनुसार त्यहाँ सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा फेला परेका छन् । शनिबार एकै दिन त्यहाँ ९० हजार ३९७ वटाकाे परीक्षण गर्दा २० हजार ८०० जनामा संक्रमण फेला परेकाे हाे । त्यहाँ शनिबार एक दिनमा ३१२ जनाको ज्यान गएकाे छ भने कुल २६ हजार २७६ जनाले काेराेनानाकै कारण ज्यान गुमाइसकेका छन् ।

हाल विश्वभर कुल संक्रमित संख्या २ कराेड ७२ लाख ८३ हजार नाघेकाे छ । काेराेनाका कारण अहिलेसम्म विश्वमा ८ लाख ८७ हजारभन्दा बढीकाे ज्यान गइसकेकाे छ । आइतबार एकै दिनमा विश्वभरि २ लाख ३१ हजारबढी संक्रमित थपिएका छन् भने ४ हजार १२९ काे ज्यान गएकाे छ । तर एकै दिन २ लाख ११ हजारभन्दा बढी मानिस संक्रमणमुक्त समेत भएका छन् ।

हेर्नुस् सर्वाधिक संक्रमित देखिएका १२ देशकाे अवस्था-

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment