प्रदेश ५ को राजधानी विवाद : आन्दोलित बुटवलमा निषेधाज्ञा जारी

काठमाडौं, १७ असोज । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी बनाउने प्रस्तावको विरोधमा बुटवल उपमहानगरपालिकाका विभिन्न स्थानमा प्रदर्शन हुन थालेपछि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले शनिबार साँझ प्रेस विज्ञप्ती जारी गर्दै बुटवल उपमहानगरपालिकाका विभिन्न स्थानमा सरकारी सवारी साधन तोडफोड, सडकमा टायर बाल्ने र नारा जुलुस गर्नेलगायतका गतिविधि भएको/देखिएको भन्दै शान्ति सुरक्षाका लागि निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार यही असोज १८ गते  आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकिएको हो ।

प्रदेशसभा भवन रहेको क्षेत्रको दक्षिणमा ईंट्टाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि ईंट्टा भट्टीचोकसम्मको कालिका क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।

त्यस्तै, विभिन्न प्रदेश मन्त्रालयहरु रहेको क्षेत्रहरुमा दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्की चोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाट–भटेनी चोकसम्म निषेधित क्षेत्र तोकिएको छ ।

त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय क्षेत्रहरुमा दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत चोकदेखि हाट बजार जोड्ने लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रलाई निषेधाज्ञा क्षेत्र तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उक्त निषेधाज्ञाको समयमा पाँच जना भन्दा बढी ब्यक्तिहरु समूहमा उपस्थित भई हिँडडुल गर्न पाइने छैन । त्यस्तै, सभा, जुलुस, प्रदर्शनलगायतका गतिविधिहरु गर्न/गराउन नपाइने जिल्ला प्रशासनले जनाएको छ ।

उक्त क्रियाकलापहरु गरे÷गराएको पाइएमा प्रचलित कानून अनुसार कारबाही गरिने पनि जिल्ला प्रशासनले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment