निषेधाज्ञा तोडेर रूपन्देहीका व्यवसायी सडकमा : मुख्यमन्त्रीलाई भवन खाली गर्न चेतावनी

बुटवल, १८ असोज । प्रशासनले घोषणा गरेको निषेधित क्षेत्र र कोरोनाको कहरलाई बेवास्ता गर्दै रुपन्देहीका व्यवसायीहरु यतिबेला सडकमा जुलुस निकालिरहेका छन् । विभिन्न व्यावसायिक प्रतिष्ठानहरुले संयुक्त सञ्जाल गठन गरी प्रदेशको राजधानी सार्ने प्रस्तावविरुद्ध सञ्जालको विरोध प्रदर्शन गरेका छन् ।

प्रदेश ५ को राजधानी दाङ राख्ने प्रदेश सरकारको प्रस्ताव विरुद्ध आईतबार बुटवलमा उद्योगी-व्यवसायीले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गरेका हुन् । उद्योगी व्यवसायी तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विरोध गर्ने तयारी गरेपछि सरकारको तर्फबाट जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलका विभिन्न स्थानमा निशेधाज्ञा जारी गरेको थियो ।

बिहानैदेखि बुटवलको राजमार्ग चौराहा हुँदै मिलनचोक, बसपार्क, अस्पताल लाइनदेखि ट्राफिक चोकसम्म -याली गरी कोणसभा गरिएको थियो । कोणसभामा बोल्ने विभिन्न वक्ताहरुले विश्वमा कहीँको पनि राजधानी स्केल नापेर घोषणा नगरिने गरेको बताउदै रुपन्देहीमा जनघनत्व, भौतिक पुर्वाधार र विकासका सबै हिसाबले बुटवलको विकल्प अरू हुन नसक्ने बताए ।

कोण सभामा बोल्दै सञ्जालको संयुक्त संघर्ष समितिका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले प्रदेशको राजधानी अन्यत्रै लैजाने भए आफ्ना भवनहरु तुरुन्तै खाली गराउन मुख्यमन्त्री शंकर पोखरेललाई चेतावनी दिए ।

यस्तै कार्यक्रममा पश्चिमाञ्चल बस प्रालीका अध्यक्ष दधिराम खरेल, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, उद्योग वाणिज्य संघका माधव पौडेल, होटेल व्यावसायी संघका समुन्द्र जिसि, गौतम बुद्ध मुटु अस्पतालका अध्यक्ष एजाज आलम लगायतले बहुसंख्यक जनताको माग बुटवलमा राजधानी हुनुपर्ने रहेको भन्दै कोरोना कहरका बेला राजधानी सार्ने प्रस्ताव ल्याउनु निकै दु:खद रहेको बताए ।

प्रदेशको राजधानी बुटवल तोकिएपछि प्रदेश सभा तथा सरकारको स्थापनामा बुटवलका धेरै सामाजिक तथा व्यवसायिक संघ-संस्थाले आफ्ना भवनहरु प्रदेश सभालाई दिएका थिए ।

एमालेका तर्फबाट विष्णु पौडेलले र शंकर पोख्रेलको राजनीतिक लडाईको रुपमा समेत लिइएको प्रदेश राजधानी अहिले दुवै नेता चुपचाप छन् । कतिपयले विष्णु पौडेललाई मन्त्री पदसँग राजधानी साटेको भनेर अर्थ्याइरहेका छन् भने कतिपयले पार्टीको ह्विप अनुसार नबोल्ने भनेर नेकपाका सांसदहरु नै चुपचाप छन् । यसरी व्यवसायीहरुले गरेको आन्दोलनले आफ्नो ठाउँमा अर्थ राखे पनि राजनीतिक दल र त्यहाँका जनप्रतिनिधि नबोल्ने हो भने राजधानीको आन्दोलन अर्थपूर्ण हुने देखिँदैन ।

न्युज२४ नेपालबाट साभार गरिएकाे



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment