महानायक राजेश हमालको टिभी कार्यक्रमको विरोधमा हिन्दू धर्मका समर्थकहरु सडकमा

काठमाडौं, २७ असोज । हिन्दूत्व समाप्त पार्न खोजेको भन्दै हिन्दू समर्थकहरुले महानायक राजेश हमालको पुत्ला दहन गरेका छन् । साथै सामाजिक सञ्जालमा पनि नायक हमालको बिरोध तीब्र बनाइएको छ ।

जातको प्रश्न नामक टेलिभिजन कार्यक्रममार्फत हमालले हिन्दूको अस्थित्वमाथि आँच आउने तथा हिन्दू बिरोधी बिषयवस्तु उठाएको भन्दै उनीहरुले हमालको पुत्ला दहन गरेका हुन् ।

केही महिना अघिबाट सञ्चालनमा आएको उक्त कार्यक्रम समता फाउण्डेसनले नेपाली समाजको विभेद र छुवाछुतको अन्त्यका लागि भन्दै सुरु गरेको हो । तर राष्ट्रिय एकता अभियानको अगुवाईमा सोमबार काठमाडौंको भिमसेन गोलामा जम्मा भएका हिन्दू समर्थकहरुले क्रिश्चियन लगानीमा हिन्दूत्व समाप्त पार्ने खेलमा राजेश हमालले भूमिका खेलेको आरोप लगाएका छन् ।

हमालले हिन्दुहरुको हुर्मत लिने काममा मतियार बनेको उनीहरुको आरोप छ । पुत्ला दहनमा भेला भएका सहभागीहरुले उक्त टेलिभिजन कार्यक्रमलाई बन्द गरेर हिन्दु समाजसँग माफी माग्नुपर्ने मागसमेत गरेका छन् ।

सहभागीहरुले राजेश हमालले हिन्दू धर्म संस्कृतिलाई मास्ने काम गरेको र जातिय बितण्डता मच्चाउन खोजेको बताएका थिए । उनीहरुले हिन्दू समाजबाट उठेको रकमबाट नायक बनेर हिन्दू समाजलाई नै घात गरेको बताएका छन् । हमालले आफ्नै काममार्फत नायकबाट खलनायक भएको सिद्ध गरेको उनीहरुको आरोप छ । हमालले क्रिश्चियनको पैसा खाएर हिन्दू धर्मावालम्बीहरुमाथि प्रहार गरेको नारासमेत लगाएका थिए ।

क्रिश्चियन दलाली बन्द गर, हिन्दु द्रोह राष्ट्र द्रोह, राजेश हमाल नायक कि खलनायक, राजेश हमाल इन सेल, हिन्दूत्व माथिको आक्रमण बन्द गर जस्ता लेखिएका पोष्टर बोकेर बिरोध भएको थियो ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment