हिमपामत सुरू हुन लाग्दा लिमिबासीलाई खाद्यान्नकाे चिन्ता, चीनको नाकाबन्दीले समस्या

हुम्ला, १८ कार्तिक । सधैँ चीनको ताक्लाकोटबाट खाद्यसहित लत्ता-कपडा र सम्पुर्ण उपभोग्य सामान ल्याउने लिमिका बासिन्दालाई कोभिड- १९ का कारण यस वर्ष ‘नाकाबन्दी’ हुँदा समस्या भएकाे छ । सरकारी ढुवानी अनुदानको चामल पनि नपुगेपछि हिमालपारिको गाउँ भनेर चिनिने लिमी गाउँका बासिन्दा हिमपातअघि नै खाद्यान्नको जोहो गर्न जुटेका छन् 

आफ्नो उत्पादनले मुस्किलले ३ महिना पनि नपुग्ने लिमिमा अहिले सबैभन्दा बढी खाद्यान्न अभाव देखिने भएको छ । कोरोना महामारीका कारण चिनियाँ नाका बन्द भएपछि गाउँमा खाद्यान्न समस्या चुलिएको स्थानीय कोलाप्साङ्ग तामाङले बताए  । ‘गाउँको उत्पादनले ३ महिना पनि पुग्दैन, सरकारी अनुदानको चामल गाउँमा नपुग्दा चिनियाँ खाद्यान्नको भर पर्नु पर्ने बाध्यता छ,’ उनले भने, ‘यो वर्ष हिल्सा नाका नखुलेपछि चामल ल्याउन सदरमुकाम आएका हौं ।’ उनका अनुसार लिमीमा कात्तिक अन्तिम साताबाट हिउँ पर्न सुरु हुन्छ । हिमपात भएपछि घरबाहिर निस्किन पनि मुस्किल हुन्छ ।

पर्याप्त भौतिक पूर्वधारदेखि अन्य सामग्री पाउन फलामको चिउरा चपाएझैँ हुन्छ तर बाध्यता र विवशताको बीचमा सबै कुरा नपुगे पनि पुगे झैँ गरी काम गर्नुपर्ने बाध्यता छ, नाम्खा गाउपालिका–६ लिमिका बासिन्दालाई ! अहिले कोभिड १९ का कारण चिनबाट ल्याईने नुन देखि सुन सम्मका सम्पुर्ण सामग्री आयातमा रोक लगाए पछि झनै समस्या भएको वडा अध्यक्ष पाल्जोर तामाङ्गले बताए ।

चीनको ताक्लाकोटबाट आयात गरिन आवश्यक सामग्री कोबिट १९ ले भएको नाकाबन्दिले अहिले ट्याक्टरमा ४ दिन लगाएर सदरमुकाम सिमकोटबाट ल्याउने परेकोछ । केही हुने खानेहरु चिसो छल्न शहर तिर झरेपनि गरिब परिवारलाई आवश्यक सामग्री जुटाएर लिमिमै बस्न बाध्य छ । सरकारले उपलब्ध गराउँदै आएको खोप देखि अन्य सुविधाबाट लिमिकाका स्थानियबासि र बालबालिका हिमपातको समयमा सेवा बिहीन भएर बस्नु बाहेक अरु बिकल्प नभएको वडा अध्यक्ष तामाङ्गले बताए । हिमपात भएपछि मंसिरदेखि बैशाखसम्म ६ महिना प्राकृतिक नाकाबन्दी हुने भएकाले चाहेको काम समेत गर्न नसकिने अवस्थामा लिमिले पीडा खेप्छ ।

हिमपातले ६ महिना गाउँबाट बाहिर आवतजावत गर्न नसकिने अवस्था हुने भएकाले लिमीका जाङ्ग, हल्जि र तील ३ गाउँका अगुवा गाउँबासीहरूका लागि खाद्यान्न र सम्पूर्ण दैनिक उपभोग्य सामान जोहो गर्न सदरमुकाम सिमकोट पुगेका छन् । तत्कालको लागि लिमीको खाद्य समस्या टार्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीको हुम्ला शाखाले ३ सय क्विन्टल चामल उपलब्ध गराएको छ । भने लिमिका लागि २ हजार क्विन्टल खाद्यान्न स्वीकृत भए पनि ठेकेदारको बेवास्ताले अझै चामल ढुवानी हुन सकेको छैन । तत्कालको खाद्यन्नको समस्या नहोस भनेर लिमीबासीलाई ३ सय क्विन्टल चामल वितरण गरिएको कम्पनीका शाखा प्रमुख रामबहादुर विष्टले बताए छन् ।

कर्णालीमा सबैभन्दा न्यून खाद्यान्न उत्पादन हुने हुम्लामा माग अनुसार चामल नआउँदा बर्सेनि खाद्यान्न अभाव हुने गरेको छ । यदि जिल्लाले माग गरे अनुसारको खाद्यन्न आउने हो भने जिल्लामा खाद्यन्न संकट नहुने जिल्ला खाद्य ब्यबस्थापन समितिले जनाएको छ ।

यस आर्थिक बर्षमा जिल्ला खाद्य व्यवस्था समितिले हुम्लाको लागि ७३ हजार क्विन्टल खाद्यान्न माग गरेको भएपनि २५ हजार ८ सय क्विन्टल मात्र खाद्यान्न स्वीकृत भएको खाद्य ब्यबस्था तथा ब्यापार कम्पनीका शाखा प्रमुख रामबहादुर विष्टले बताए । अहिले कम्पनीको सिमकोट शाखामा ३ हजार १ सय क्विन्टल श्रीनगर डिपोमा १ सय ५० र सर्केगाडमा १ सय क्विन्टल मात्र चामल मौज्दात भएको उनले बताए ।

हुम्लामा नेपालगन्जबाट जहाज मार्फत खाद्यान्न ढुवानी गर्न प्रतिकिलो १ सय १३ र सुर्खेतबाट १ सय ८ रुपैयाँ भाडा तिर्नुपर्ने बाध्यता छ । लकडाउनयता चामल खरिद गर्नेको संख्या बढेको छ । उनले भने, हुम्लाका लागि आउने खाद्यन्नको ढुवानी नरोकिए तत्काल हुम्लामा खाद्यान्न अभाव हुने अवस्था छैन ।’

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment