
विपन्न परिवारलाई वितरण गर्न ल्याइएको चामल कुहिएको छ। कोरोना संक्रमणका बेला ल्याइएको ८ हजार किलोभन्दा बढी चामल खान अयोग्य भएको छ।
इलामको सूर्योदय नगरपालिकाले वितरण गर्ने तयारी गरेको ८ हजार ६ सय ७५ किलो चामल र १ सय ५० किलो दाल कुहिएको हो। सो नगरले पहिलो चरणमा राहत वितरण गरेपछि बाँकी खाद्यान्न स्टोरमा थन्क्याएको थियो। नगरले पहिलो चरणमा २१ हजार ६ सय ५ किलो चामल वितरण गरेको थियो। त्यसैगरी १ हजार ४ सय ६० किलो नुन, २ हजार थान साबुन, १ हजार ४ सय ६० लिटर खाने तेल वितरण गरेको सूर्योदय नगरका विपद व्यवस्थापन समिति सचिव ईश्वरी अधिकारीले जानकारी दिए।
बाँकी चामल र दाल स्टोरमा रहेको तर खान अयोग्य भएको उनले बताए।
नगरले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको कोरोना कोषमार्फत असार मसान्तसम्ममा क्वारेन्टाइन, स्वास्थ्य सामग्री यातायातमा ७५ लाख ६६ हजार ७ सय ८ रुपैयाँ खर्च गरेको छ। सो कोषमा संघीय र प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय इलाम, नगरका जनप्रतिनिधि, कर्मचारी र विभिन्न व्यक्ति र संघसंस्थाबाट ८७ लाख ९ हजार २७ रुर्पयाँ जम्मा भएको थियो। असार मसान्तसम्ममा सो कोषमा १० लाख ५ हजार ९८ रुपैयाँ बचत रहेको बताइएको छ। असारयताको खर्च विवरण भने अझै सार्वजनिक गरिएको छैन।
0 comments:
Post a Comment