प्रदेश १ को संसदीय दलको नेतामा भीमप्रसाद आचार्य चयन

विराटनगर, १६ पुष । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई उहाँकै दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलबाट बहुमत सदस्यहरुले हटाएर भीमप्रसाद आचार्यलाई दलको नेता छानेका छन् ।

विहीबार (आज) नेकपाको संसदीय दलका ६७ सदस्यमध्ये ३६ जनाको हस्ताक्षरसहित दलको नेताबाट राईलाई हटाएर आचार्यलाई चयन गरिएको पत्र प्रदेशसभामा दर्ता गराएका छन् ।

नेकपा संसदीय दलको नेता परिवर्तन गर्न यसअघि प्रदेशसभाका ३६ सदस्यले उपनेता टंक आङ्बुहाङलाई पत्र बुझाएका थिए । पत्र प्राप्त भएपछि आङ्बुहाङले पुस १९ गते संसदीय दलको बैठक बोलाउनुभएको थियो ।

मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव पेश गर्नेलाई स्पष्टिकरण सोधेपछि बिहीबार विहान आकस्मिक रुपमा संसदीय दलको बैठक बसेको हो ।

बहुमत सदस्यको अविश्वास प्रस्ताव आएपछि दलको नेताको हैसियतमा कुनैपनि काम नगर्न सुचित गरेको भएपनि मुख्यमन्त्रीले स्पष्टिकरण सोध्ने र सांसदलाई धम्क्याउने काम गरेको भन्दै आकस्मिक रुपमा दलको बैठक बोलाइएको नेता आङ्बुहाङले बताउनुभयो ।

उहाँले विहीबार विहान ९ बजे बसेको बैठकले राईलाई पदमुक्त गरेर आचार्यलाई दलको नेतामा चयन गरेको जानकारी दिनुभयो ।

दलका उपनेता टंक आङ्बुहाङले प्रदेश १ प्रदेशसभा सचिवालयमा पुगेर दलको नेताबाट वर्तमान मुख्यमन्त्री तथा आफ्नो दलका नेता राईलाई बहुमत सांसदहरुले निष्कासन गरेको पत्र दर्ता गराउनुभएको सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिनुभयो ।

दलको नेताबाट हटाएको पत्र मुख्यमन्त्रीलाई पनि पठाइएको नेकपाका सांसदले बताएका छन् । यसअघि गत आइइतबार मुख्यमन्त्री राईविरुद्ध संसदमा नेकपाकै ३७ जना सांसदहरुले प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश गरेका थिए ।

सोही दिन नेकपा संसदीय दलको नेताबाट पनि उनलाई हटाउन ३६ जना सांसदले संसदीय दलका उपनेता टंक आङ्बुहाङलाई पत्र बुझाएका थिए । हत्तारमा दल भित्रै गुट र उपगुटको होडबाजीले गर्दा कतिपय सांसदहरु इच्छा बिपरीत नाम टिपेको भन्दै दाहाल–नेपाल समूहबाट बाहिरिने क्रममा सुरु भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment