प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद्को विस्तार तथा हेरफेर, दुई मन्त्री हटाइए, नौ थपिए


काठमाडौं, १० पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको विस्तार तथा हेरफेर गर्नु भएको छ । ओलीले ९ नयाँ मन्त्रीको नियुक्ति गर्दै केही मन्त्रीको मन्त्रालय हेरफेर गर्नु भएको छ भने दुई मन्त्रीलाई विदा दिनुभएको छ ।

शुक्रबार साँझ प्रधानमन्त्री ओलीले गर्नु भएको मन्त्रिपरिषदको विस्तार र हेरफेरमा टोपबहादुर रायमाझी उर्जा मन्त्री बन्नु भएको छ । त्यस्तै मणि थापा खानेपानी, प्रभु साह शहरी विकास र प्रेम आले वन मन्त्री बन्नु भएको छ ।

यसैगरी गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री र गौरी शंकर चौधरी श्रम मन्त्री बन्दा दावा लामा युवा तथा खेलकुद मन्त्री बनाइनु भएको छ ।

त्यस्तै जुली कुमारी महतो महिला बालबालिका मन्त्री बन्दा विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बन्नु भएको छ ।

यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनाइनु भएको छ । भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाउँदा शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री बनाइनु भएको छ ।

यस्तै स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनाइनु भएको छ ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्य मन्त्री मोतीलाल दुगड हटाइनु भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment