घरझगडा मिलाउनुको साटो घर र बस्ती नै उजाड पार्ने काम प्रधानमन्त्रीले गरे : पूर्वमन्त्री भट्टराई


ब्रसेल्स, १८ पुस । नेकपाका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले तथ्यगत रुपमा प्रधानमन्त्री केपी शर्मा ओली अधिनायकवादतर्फ जाँदै गरेको आरोप लगाउँदै कडा आलोचना गरेका छन् ।

नेकपा प्रवास समन्वय कमिटिद्वारा शुक्रबार आयोजित जुम कार्यक्रममा बोल्दै नेकपा स्थायी समिति सदस्य भट्टराईले निर्वाचनको माध्यमबाट आएको यो अधिनायकवादलाई आफ्नै स्वअध्ययनले बुझेर विचारको छनोट गर्न आह्वान  गर्दै विभाजनलाई कुनै गुट र समिकरणको आँकलन गर्न नहुने तर्क राखेका छन् ।

सत्यको पक्षमा बोल्न र व्यक्तिगत् गालिगलोज नगरी स्वच्छ राजनीति गर्न अनुरोध गर्दै उनले प्रधानमन्त्री ओलीले सहमति तोडेर पाँचै वर्ष सरकारको नेतृत्व गर्ने कुरा गरेपछि साढे २ वर्षपछि प्रचण्डले प्रधानमन्त्री बन्ने सम्झौताको सहमति पत्र सबको सामुन्ने च्यातेको साक्षी आफू रहेको बताए । घर झगडा हुँदा घर मिलाउनुको साटो घर र बस्ती नै उजाड गर्ने काम प्रधानमन्त्रीले गरेको उनको कथन थियो ।

‘लेखेर राख्नुस्, चैत महिनाको अन्ततिर प्रधानमन्त्री सडकमा आउन बाध्य हुन्छन्, पूर्वमन्त्री भट्टराईले भने । तर यसकाे भित्री कारण भने खुलाउन चाहेनन् । ‘केपी ओलीलाई छलफलमा आउनुस्, स्थायी कमिटिमा आउनुस् भनेर पटकपटक भन्दा नमान्ने, भागेर हिँड्ने, आफ्नो स्टेटम्यानशीप देखाउनै नसक्ने, दिन दहाडै झुट बोलिदिने’ भन्दै भट्टराईले सबै विचार बोकेकाहरुले केपी ओलीले चालेको अधिनायकवादबाट मुलुकलाई बर्बादीको दिशातर्फ जानबाट जोगाउनु आवस्यक भएको बताए ।

मुलुकलाई अस्थिरतातर्फ धकेल्दै साम्प्रदायिक-धार्मिक नरसंहारतर्फ प्रधानमन्त्रीले ढोका खोलेको आरोप लगाउँदै उनले धारा ४४ अनुसार बहुमतको आधारमा पार्टीको झण्डा, चुनाब चिन्ह र आधिकारिकता हुने प्रष्ट बताए ।

विश्वभरबाट २ सय भन्दा बढी प्रवासी नेपाली एकता मञ्चका पदाधिकारीहरु, अगुवा कार्यकर्ता सहभागी भेलामा पूर्वमन्त्री भट्टराईले भने गत निर्वाचनमा निर्वाचन आयोग र सुरक्षा खर्च जोड्दा २५ अरब रुपैयाँ खर्च भएको बताए । ‘अहिले महंगी बढेको छ, समय परिवर्तन भएको छ, ४० अर्ब चुनावी खर्च हुन्छ,’ उनले भने, ‘८० अरब रकम कोरोना खोप किन्नका लागि  चाहिन्छ, अब सामान्य ढंगले सोच्नुस् कसरी चुनाव सम्भब छ यस्ताे वेला ? के देश टाट पल्टाएर चुनाव हुन्छ ?’

प्रतिनिधि सभा विघटनको कडा आलोचना 

प्रवासमा रहेका सहभागी वक्ताहरू सबैले प्रतिनिधि सभा विघटनको कडा आलोचना गरेका छन् । संसद विघटनपछि प्रधानमन्त्रीले झूटो प्रचार गोयबल्स शैलीमा समेत गरिरहेको पार्टी प्रवास संगठन विभाग सचिव श्रीप्रसाद शाहले बताए । ‘प्रधानमन्त्रीका अधिकांश मन्त्री किचेनका छन्, सचिवहरू, सुरक्षा निकाय प्रमुखहरू, राजदूतहरू सबै पकेटका छन् । अनि काम गर्न दिएन भन्न सुहाउछ ?’ सचिव तथा केन्द्रीय सदस्य शाहको प्रतिप्रश्न थियो ।

प्रधानमन्त्रीले आज आफ्ना पक्षधर प्रवासी संगठनका कार्यकर्तासँग भर्चुअल कार्यक्रममा नेकपा प्रचण्ड– माधव समुहको उजुरी निर्वाचन आयोगबाट फिर्ता भैसकेको भनेर बोलेको झुटको घोर भर्त्सनासहित खेद व्यक्त गरिएको माईन्युट भएको समेत प्रवास समन्वय कमिटिका अध्यक्ष युवराज चौलागाईंले बताए । कार्यक्रममा प्रवास समन्वय कमिटिको निर्णय बेगर प्रतिगमनको समर्थनमा सहभागी भएका पदाधिकारिलाई विधिसंगत अनुशासनको कार्बाही गरिने समेत अध्यक्ष चौलागाईंले बताएका छन् ।

कार्यक्रमलाई पार्टी प्रवास संगठन विभाग सचिव श्रीप्रसाद शाह र बेलायत एकता मञ्चका अध्यक्ष राजेन्द्र पुडासैनीले सहजीकरण गरेका थिए । कार्यक्रम पार्टी प्रवास संगठन विभाग अध्यक्ष युवराज चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment