मोरङबाट इलाम आएर लोप हुँदै गरेका ठेकीको संरक्षण गर्दै गोपाल सेन्चुरी

  • विनय तिम्सिना


इलाम, २३ माघ । मोरङबाट इलाम आएर गोपाल सेन्चुरी लोपहुन लागेका दारका ठेकी बनाउनमा तल्लिन छन । इलामको बरबोटेमा उनले इलामकै सुम्वेकबाट ल्याएका दारका मुढाको ठेकी बनाइ रहेका छन् । बाटोको किनारैमा काठका मुढा लडिरहेका छन । मुढालाई सुम्सुम्याउँदै कहिले यता कहिले उता पल्टाउने सेन्चुरीलाई फुर्सद नै छैन । लामो फलामको छिनो, धारिलो टुप्पो अलिकति कोप्रिएको, त्यही छिनोले काठका मुढा कोट्याएर उनले मनग्य आम्दानी गरिरहेका छन् ।

कुमालेको चक्रजस्तै घुम्ने बिजुली मेसिनमा काठका मुढा घुमाउँदै सेन्चुरी बिहान, दिउँसो र साँझ ठेकी बनाउने कारखानामा व्यस्त हुन्छन । २५ वर्ष अधिदेखि उनले यो सीप सिकेर पेसामा लागेका सेन्चुरी अहिले सम्म ठेकी बनाएरै बितेको बताउँछन् ।


ठेकीबाट भएको आम्दानी सुनारको घरखर्चमा मात्रै सीमित छैन, उनले आफ्ना छोराछोरीको शिक्षामा लगानी गरेका छन । काठको ठेकी अहिले उनी कति मानाको अधारमा विक्री गर्ने गर्दछन उनी एकमाना जाने ठेकी ३ सय देखि ४ सय सम्ममा बिक्री हुने बताउँछन् ।

उनले ठेकी बनाउने ठाउमा उनी मात्र होइन अन्य ४-५ जनाले रोजगारी पनि पाएका छन् ।


पहिले पानीघट्टको प्रयोगबाट मेसिन सञ्चालन हुने भए पनि अहिले विद्युत प्रयोग भएको छ । पानीघट्टभन्दा विद्युतबाट मेसिन सञ्चालन गर्दा सहज र उत्पादनमा समेत वृद्धि भएको अनुभव उनीहरूको छ । विद्युतबाट मेसिन सञ्चालन हुन थालेपछि विभिन्न ठाउँमा गएर काम गर्न सहज भएको छ ।

ठेकी बनाउने पेशा नयाँ पुस्तामा हस्तान्तरण नभएपछि सङ्कटमा परेको हो । मिहिनेतअनुसार आम्दानी नहुने र बजारमा आएका आधुनिक भाँडाकुँडाका कारण ठेकीको व्यापारमा कमी आएको उनको भनाइ छ ।

इलाममा यस अघि कसैले पनि ठेकी नबनाएको र आफुले नदेखेको अहिले देख्न पाउँदा हाम्रो पुस्ता मात्र हैन बुवाहरुको पुस्ताले पनि देख्न पाएको र उहाँहरु यहाँ आएर संस्कृतिको जगेर्ना गरेकोमा खुसी लागेको स्थानीय दुर्गा दुलाल बताउँछन् ।

ग्रामीण क्षेत्रमा किसानले दही जमाएर मोही पार्ने र राख्ने सामग्रीका रूपमा ठेकीको प्रयोग हुँदै आएकामा अहिले पशुपालन कम हुन थालेपछि यसको प्रयोगमा कमी आएको छ । हिजोआज प्लास्टिक तथा धातुका सामान प्रयोग हुन थालेपछि काठको ठेकी लोप हुने अवस्थामा पुगेको हो ।

पछिल्लो समय बिक्री कम हुने र पर्याप्त काठ नपाउने हुँदा पनि ठेकी बनाउने पेशा सङ्कटमा परेको छ । ठेकी बनाउनका लागि दार, कटहर, सिसौ, खिर्रो लगायतका काठको प्रयोग हुन्छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment