पूर्व-पश्चिम राजमार्गमा बस र टिपर ठोक्किँदा ५ जनाको मृत्यु, ४१ जना घाइते


बाँके । कोहलपुर नजिकै पूर्व-पश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोक्किँदा ५ को मृत्यु भएकाे छ । साथै ४१ जना घाइते भएका छन् ।

सुर्खेतबाट धरानतर्फ जाँदै गरेको मे १ ख ३३४७ नम्बरको यात्रुबाहक बस र कोहलपुरतर्फ आउँदै गरेको अनटेस्ट मालबाहक टिपर साँझ ६ः०० बजे रोहिणी खोला नजिक एकापसमा ठोकिँदा चार पुरुषसहित एक महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परी टिपरका चालकसहित दुई र बसमा सवार तीन गरी पाँच जनाको मृत्यु भएको हो । सुर्खेत साटाखानी निवासी जीवनकुमार न्यौपानेको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य चारको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।

मृत्यु भएका पाँचमध्ये चार जनाकाे सनाखत भइसकेकाे छ । जसमा कोहलपुर- १२ बस्ने टिप्पर​का सह-चालक उदय बाँठा र टिपर चालक २५ वर्षीय खगेन्द्र बहादुर सुनारकाे  ज्यान गएकाे छ ।

यसैगरी बसमा सवार सुर्खेत घर भएका ४१ वर्षीय जीवन कुमार बिक र झापाको मेची नगपारपालिका- १० का छत्रबहादुर कटुवालकाे पनि ज्यान गएकाे छ । ज्यान गुमाएकी एक करिब ३५ वर्षीया महिलाको पहिचान भने खुल्न सकेकाे छैन ।

घाइतेलाई कोहलपुरस्थित शिक्षण अस्पतालमा पुर्याइएको छ ।  घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर, १४ को मध्यम र २० जनाको सामान्य अवस्था रहेको प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो ।

दुर्घटनामा घाइते भएका व्यक्तिको उद्धारका लागि दुई क्रेन र तीन स्काभेटर प्रयोग गर्नुपरेको थियो । पूर्णरुपमा क्षतिग्रस्त बस र टिप्परभित्र रहेका घाइतेको उद्धारका लागि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment