आज गणतन्त्र दिवस : १३ वर्ष बितेर गए तर जनताले के पाए ?


काठमाडौं । आज १४ औँ गणतन्त्र दिवस, सामान्य औपचारिकताका साथ मनाइँदै छ । कोरोना महामारीको प्रकोप र निषेधाज्ञा कडा पारिएका कारण यस वर्षको गणतन्त्र दिवसमा भव्य समारोह र तामझाम नगरी मनाउने सरकारले निर्णय गरेको छ ।

गत वर्षको गणतन्त्र दिवसमा पनि यस्तै अवस्था थियो । यस साल पनि कोरोना सङ्क्रमणको जोखिमकै कारण कुनै विशेष कार्यक्रम राखिएको छैन ।

अघिल्ला वर्षमा सरकारले राष्ट्रपतिको उपस्थितिमा राजधानीको सैनिक मञ्चमा भव्य समारोह गरी गणतन्त्र दिवस मनाउने गर्थ्यो । प्रदेश राजधानी, जिल्ला सदरमुकाम र सबै स्थानीय तह र विदेशस्थित सबै नेपाली कूटनीतिक नियोगहरूमा समेत भव्य उत्सव र कार्यक्रम गरी तामझामका साथ गणतन्त्र दिवस मनाइन्थ्यो ।

जगाएन जनतामा आशा

२०६५ साल जेठ १५ गतेकै दिन संविधानसभाको पहिलो बैठक बसेर नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ । यस दिनलाई लामो शाहवंशीय राजजन्त्र अन्त्य भएर जनताको शासन अर्थात् गणतन्त्र आएको खुसीयालीमा दिवसका रुपमा मनाइन्छ ।

गणतन्त्र घोषणा भएका १३ वर्ष बितेर गए पनि मुलुक र जनताले उल्लेख्य प्रगतिको आभाससम्म गर्न पाएका छैनन् । गणतन्त्रपछिका करिब ७ वर्ष संविधान बनाउने कचिंगलमै बितेर गएका थिए । पहिलाे संविधानसभा विना उपलब्धि असफल भएपछि जनतामा थप निराशा चुलिएकाे थियाे ।

तर दोस्रो संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएपछि र मुलुक संघीयतामा गएपछि सर्वत्र खुसीयाली र नयाँ आशा छाएको थियो । तापनि त्यसयता समेत सत्ताकै लागि राजनीतिक दलहरुमा हानाथाप जारी रहेकाले मुलुकमा स्थिरता समृद्धिको आशा निरर्थक भइरहेको छ । पछिल्ला वर्ष मुलुकमा अराजकता, भ्रष्टाचार तथा दण्डहीनता समेत बढ्दै गएर जनतालाई थप निराश बनाइरहेको विश्लेषण भइरहेको छ ।

यसअघि गणतन्त्र दिवसको अघिल्लो दिन शुक्रबार प्रधानमन्त्री केपी ओलीले देशबासीको नाममा सम्बोधन गर्नुभएको थियो ।

२०७४ सालसम्म गणतन्त्र दिवसमा विदा हुने गरेको थियो । तर २०७५ सालदेखि यो विदा कटौती गरिएको छ । सरकारले २०७५ चैत्र १ गते प्रकाशित गरेको नेपाल राजपत्रमा पनि गणतन्त्र दिवसलाई राष्ट्रिय रुपमा मनाइने तर कार्यालय खुल्ने विदाको रुपमा सुचिकृत गरेको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment