निषेधाज्ञा एक साता थप गर्ने तयारी, सार्वजनिक यातायात तत्काल सञ्चालन नगरिने


काठमाडौं । बैशाख १६ देखि उपत्यकामा जारी निषेधाज्ञा पुनः एक साता थप गर्ने तयारी गरिएको छ । निषेधाज्ञा खुकुलो पारिए पनि कोरोना भाइरस संक्रमण दर नघटेको निष्कर्ष निकाल्दै उपत्यकाका तीनै जिल्ला प्रशासनले पुनः एक साता निषेधाज्ञा लम्ब्याउने तयारी गरेका हुन् ।

आइतबार बेलुकी बस्ने तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा अवधि एक साता थप गर्ने तर, कुन–कुन क्षेत्रलाई कडाइ र खुकुलो गर्ने भन्ने बारे निर्णय भइनसकेको ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलाले बताएका छन् ।

उनका अनुसार उपत्यकामा कोरोना संक्रमण दर घटिनसकेको र अहिल्यै निषेधाज्ञा खोलिए अवस्था भयवह हुन सक्ने र थप एक साता भने निषेधाज्ञा थप गर्ने अनौपचारिक निर्णय भएको छ । आइतबार तीनै सीडीओको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गर्ने पनि उनले बताए ।

अहिले निजी सवारीमा जोर/बिजोर प्रणालीअन्तर्गत साधन चलिरहेका छन् तर, सार्वजनिक यातायात भने बन्देज अवस्थामा छन् । यस विषयमा सार्वजनिक यातायात सञ्चालन गर्न आफूहरुलाई दिनहुँ यातायात व्यवसायीको माग आइरहेको पनि उनले बताए ।

उनका अनुसार सार्वजनिक यातायात सञ्चालनबारे तत्काल खुला गर्ने तीनै जिल्लाको योजना छैन । तैपनि, आइतबारको बैठकले संक्रमण दरलाई नियालेर निर्णय लिने उनले बताए ।

यता, काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले निषेधाज्ञा लम्बिने तर, सार्वजनिक यातायात भने तत्काल सञ्चालनमा नल्याइने बताएका छन् ।

उनका अनुसार सार्वजनिक यातायात सञ्चालन गरेर जनजीवन सरल बनाउनु आफूहरु तयार रहे पनि कोरोना संक्रमण दर न्यून नभएका कारण हतार नगरिने उनले बताए ।

सार्वजनिक यातायात सञ्चालनबारे स्वास्थ्य मन्त्रालयको सुझावलाई हेरेर निर्णय गरिने पनि उनले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment