जसपाका जिल्ला सदस्य हतियारसहित पक्राउ


उदयपुर । जनता समाजवादी पार्टी (जसप) उदयपुरका जिल्ला कमिटी सदस्य परशुराम चौधरी स्वचालित हतियारसहित पक्राउ परेका छन् । ५० वर्षीय चौधरीलाई त्रियुगा नगरपालिका–३ मोतिगढाबाट बिहीबार मध्याह्न पक्राउ गरिएको हो ।

चौधरीको कान्छी श्रीमती श्यामकुमारीको घरमा अवैध हतियार लुकाइराखेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले उनलाई हतियारसहित पक्राउ गरेको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयाे । चौधरीको घरबाट मेडिन यूएस लेखिएको एक थान अटोमेटिक (स्वचालित) पेस्तोल र त्यसमा लाग्ने ५ राउन्ड गोली बरामद भएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका चौधरीले सप्तरीको सुरुङ्गा नगरपालिका–८ का २३ वर्षीय बबी चौधरीलाई फसाउने नियतले कान्छी श्रीमतीको घरमा हतियार राखेका थिए । बबी र चौधरीकी छोरीबीच प्रेम सम्बन्ध थियो । छोरीसँग बबीको प्रेम सम्बन्ध छुटाउनका लागि कान्छी श्रीमतीको घरमा परशुरामले पेस्तोल र गोली राखिदिएको प्रारम्भिक अनुसन्धमा देखिएको प्रहरी उपरीक्षक दाहालले बताउनुभयाे ।

चौधरी द्वन्द्वकालमा नेकपा माओवादीको लडाकु, त्यसपछि पार्टीका विभिन्न कमिटीमा सक्रिय रहँदै २०७७ साल माघ ४ गतेयता जसपाबाट राजनीतिक गतिविधि गरिरहेको देखिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता