मनाङ्मा १८ वर्षमाथिका सबैले लगाए कोभिडविरुद्धको खोप


मनाङ । हिमाली जिल्ला मनाङका १८ वर्षमाथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप दुवै मात्रा लगाएका छन् ।

अठार वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए । अठार वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको छ ।

जिल्लाका चार हजार १९८ नागरिकलाई कोभिडविरुद्धको खोप लगाइएको छ । तीमध्ये एक सय ६५ जनाले कोभिशिल्डको दोस्रो खोप लगाउन बाँकी रहेको आचार्यले बताए ।

मनाङमा दुई हजार ९६ जनाले एस्ट्राजेनेकाको कोभिशिल्ड खोप, दुई हजार २७ जनाले जोन्सन एण्ड जोन्सनको खोप र ७५ जनाले भेरोसेलको पूर्ण खोप लगाएको आचार्यले बताउनुभयो ।

स्वास्थ्य कार्यालयले मनाङमा खोप लगाउन योग्य नागरिक छ हजार २०० रहेको बताएको थियो । अन्य नागरिक कामको सिलसिलामा देशविदेशमा रहेकाले खोप लगाउने नागरिकको सङ्ख्या चार हजार १९८ रहेको आचार्यले जानकारी दिए ।

मनाङमा बाढीपहिराको जोखिममा रहेको अवस्थामा कोभिडविरुद्धको खोप ढुवानीका लागि नेपाली सेनाले सहयोग गरेको थियो । आचार्यका अनुसारमा मनाङमा गत माघ १४ गतेदेखि खोप लगाउने अभियान शुरु भएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment