अफगानिस्तानबाट २० वर्षपछि बाहिरियाे अमेरिकी सेना, विमानस्थल तालिबानको कब्जामा


१५ भाद्र एजेन्सी । संयुक्त राज्य अमेरिकाले २० वर्षपछि अफगानिस्तानबाट आफ्ना सबै सेना पूर्ण रूपमा फिर्ता गरेको छ। यससँगै अफगानिस्तानमाथि अमेरिकी कारबाहीको अन्त्य भएको छ ।

काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा सहभागी भएको बताइएको छ। उक्त फौज फर्कनुअगाडि नै अफगानिस्तान छोड्न चाहनेहरुको उद्धार गरिएको थियो । बाँकी उद्धाकार कार्य भने कूटनीतिक रुपमा जारी रहने बताइएको छ ।

अमेरिकी फौज फिर्ती अभियानको सुपरिवेक्षण गरेका जनेरल फ्र्याङ्क मकेन्जीले अमेरिकाले पछिल्ला केही सातामा झन्डै ८० हजार व्यक्तिको उद्धार गरेको जानकारी दिए।

अमेरिकी सेनाका सेन्ट्रल कमाण्डका प्रमुख जनरल मकेन्जीले भनेका छन्, ‘काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभेन्टीन विमान उडेको छ। योसँगै सैन्य उद्धारको पाटो र २० वर्षदेखिको अफगानिस्तान मिसन समाप्त भएको छ।’

अमेरिकाले उक्त मिसन सन् २००१ को सेप्टेम्बर ११ को आतंकवादी हमलालगत्तै सुरु गरेको थियो । यसअन्तर्गत अलकायदाका प्रमुख ओसामा विन लादेन तथा उनका थुप्रै अल कायदा षडयन्त्रकारीहरूमाथि कारबाही भएको मकेन्जीले बताए ।

उनले अफगानिस्तानमा अमेरिकी उपस्थितिका कारण उच्च मूल्य चुकाउनुपरेको र दुई दशकमा २४ सय जना अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएको समेत जानकारी दिए ।

सोमबार अन्तिम अमेरिकी सैन्य विमान बाहिरिएसँगै, तालिबानहरूले काबुलको रात्रिकालीन आकाशमा रातो प्रकाश छरेर अनि मेसिन गनमार्फत् गोली चलाएर खुशीयाली मनाएका थिए। साथै अब काबुल विमानस्थलको सुरक्षा जिम्मा समेत तालिबानले नै लिनेछ ।

बीबीसीकीका अनुसार बाहिरिन लागेका अमेरिकी फौज र तालिबानका एलिट सुरक्षा गार्डहरू एक अप्ठेरो क्षणमा आमनेसामने भएका थिए। अन्त्यहीन युद्धपश्चात् अमेरिकी फौज फर्कन लागेपछि ती तालिबान दस्ता विमानस्थललाई आफ्नो नियन्त्रणमा लिन आइरहेका थिए, सोही क्रममा जम्काभेट भएको बताइएको छ।

यसअघि नै अमेरिकी राष्ट्रपति जो बाइडनले अगष्ट ३१ भित्र अमेरिकाबाट फौज फिर्ता गर्ने बताएका थिए।

पछिल्लो दुई हप्ताभन्दा थोरै बढी अवधिमा अमेरिकी, अरू विदेशी र अफगान गरी लगभग १ लाख २० हजार जनालाई उद्धार गरिएको थियो।

यसैबीच मंगलबार अमेरिकी राष्ट्रपति बाइडनले फौज फिर्तीबारे अमेरिकी जनतालाई सम्बोधन गर्दैछन्। बाइडेनले उद्धार कार्यमा संलग्न सबैलाई धन्यवाद दिँदै मानवीय सहयोग र अफगानिस्तान छाड्न चाहनेहरूको आवतजावतको सुनिश्चितताका लागि सत्तामा रहेकाे तालिबानसँग निरन्तर कूटनीतिक तहबाट वार्ता गरिनुपर्ने समेत बताएका छन्।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment