८५ कार्टुन अवैध स्याउसहित एक पक्राउ

 

सप्तरी । अवैध रुपमा भारततर्फ तस्करी गरी लैजान लागेको ८५ कार्टुन स्याउ प्रहरीले आज बरामद गरेको छ ।

भारतीय सीमा नजिक सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१२ मा भारततर्फ लैजाँदै गरेको दुईवटा ठेला रोकी जाँच गर्दा २५ कार्टुन र स्थानीयवासी मनोज मुखियाको गोठबाट ६० कार्टुन स्याउ बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

प्रहरीलाई देख्नासाथ स्याउ ओसार्दै गरेका एकजना ठेला चालक भागी फरार भएको र अर्का ठेला चालक हनुमाननगर कङ्कालिनी नगरपालिका–१२ का ४० वर्षीय शिवम् पण्डितलाई प्रहरीले पक्राउ गरेको छ । भारततर्फ लैजाँदै गरेको दुई ठेलामा २५ कार्टुन स्याउ बरामद भएको छ ।

सोधपुछका क्रममा पक्राउ परेका पण्डितले सोही ठाउँका मनोज मुखियाको गोठबाट स्याउ ल्याएको बताएपछि सो ठाउँमा खानतलासी गर्दा थप ६० कार्टुन स्याउ फेला पारेको हो ।

आवश्यक कानुनी कारवाहीका लागि पण्डितसहित करिब तीन लाख ४५ हजार मूल्य बराबरका ८५ कार्टुन स्याउलाई राजविराज बेल्ही भन्सार कार्यालय तिलाठीमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment