‘विश्वासको मत पाउने, नपाउने मुख्यमन्त्रीकै टिममा निर्भर’ : निवर्तमान मन्‍त्री मगर


इलाम । प्रदेश १ का निवर्तमान भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत पाउने, नपाउने आफ्नै टिममा निर्भर रहेको बताएका छन् । मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने, नपाउनेबारे राजनीति वृतमा चर्चा चलिरहेको बेला सोमबार गृहजिल्ला इलाम आइपुगेका निवर्तमान मन्त्री मगरले सो कुरा बताएका हुन् ।

पार्टी एकताका लागि सल्लाह गरेर नै शेरधन राईले राजिनामा दिएर आचार्यलाई मुख्यमन्त्रीमा चयन गरिएको बताउँदै निवर्तमान मन्त्री मगरले विश्वासको मत पाउने, नपाउने भन्ने मुख्यमन्त्रीकै टिममा निर्भर रहेको बताए । ‘हामीले नेकपा एमाले एकताका लागि सल्लाह अनुसार नै उहाँलाई मुख्यमन्त्री चयन गरेका छौं । संविधानत विश्वासको मत लिनुपर्छ’ निवर्तमान मन्त्री मगरले संचारकर्मीहरुसँग भने, ‘हामीले टिमको ३३ मत दायाँबायाँ नभई दिन्छौं भनेका छौं, उहाँको टिममा १८ जना हुनुहुन्थ्यो । त्यहाँबाट बहुमत पुर्याउने जिम्मा उहाँकै हुनेछ ।’

निवर्तमान मन्त्री मगरले विभिन्न सञ्चारमाध्यममा पछिल्लो समय आएको समाचारअनुसार मुख्यमन्त्री आचार्यलाई विश्वासको मत लिन त्यति सहज भने नभएको स्वीकार गरे । ‘समाचारमा आएजस्तो नै हो भने मुख्यमन्त्रीलाई विश्वासको मत लिन त्यति सहज छैन । यदि विश्वासको मत प्राप्त नभएपनि त्यसलाई स्वभाविक प्रक्रियाका रुपमा लिनुपर्छ ‘ उनले भने ।

माधव नेपाल निकट रहेका एमाले सचिव आचार्य पार्टी विभाजनपछि कित्ता परिवर्तन गर्दै एमालेमा बसेर बहुमत प्राप्त दलको नेताको हैसियतमा विहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धाराअनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन गरिएको थियो । संविधानको धारा १८८ (२) अनुसार मुख्यमन्त्री आचार्यले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

यस्तो छ अंकगणित :

९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा हाल ९२ जना सांसद छन् । प्रदेश १ मा नेकपा एमालेका ५१ सदस्य छन् । जसमध्ये एक जना सभामुख छन् । अर्का एक सांसद गुलेफुन खातुन फौजदारी मुद्दामा दोषी देखिएकाले फरार छिन् । एमालेका ५१ मध्ये नयाँ पार्टीमा १८ जना सांसद नयाँ पार्टीमा जाने बताइएको छ । प्रदेशमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । अन्य दलले साथ नदिएमा र एमालेबाट ५ वा सोभन्दा बढी सांसदले नयाँ पार्टी रोजेमा एमालेलाई बहुमत पुग्दैन ।

नेकपा (एकीकृत समाजवादी) मा एमालेबाट ६ सांसद मात्र गएमा र अन्य विपक्षी दलहरुबीच मोर्चाबन्दी भएमा गठबन्धनको नयाँ सरकार बन्ने सम्भावना छ । प्रदेशमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १र१ जना सांसद छन् । लामो समयसँग माधव नेपालको गुटमा रहेका आचार्यले बुधबार नेपालले एकीकृत समाजवादी गठन गरेसँगै उनको साथ छाडेका थिए ।

पार्टी विभाजनले जनमतमा असर गर्दैन

एमाले इलामका अध्यक्ष समेत रहेका मगरले पार्टी विभाजनले जिल्लामा सामान्य मात्र क्षति पुग्ने विश्वास व्यक्त गरे । ‘पार्टी विभाजनले असर गर्दैगर्दैन त म भन्दिन’ सञ्चारकर्मीको जिज्ञासामा मगरले भने, ‘हाम्रा अधिकाशं नेता तथा जनप्रतिनिधिहरु एमालेमै रहने हुनुभएको छ । यसले त्यति ठूलो जनमतमा असर गर्दैन भन्ने विश्वास छ ।’

इलाम २ (ख) बाट एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित मगरले राज्यमन्त्रीसहित १९ महिना ५ दिन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनले आफ्नो कार्यकालमा विभागीय रुपमा एक सफल अभिभावकको रुपमा आफुलाई स्थापित गर्न सफल भएको दावी गरे ।

लाेकल सन्देशबाट साभार


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment