संखुवासभा हत्याकाण्ड : प्रहरी अनुसन्धान प्रगति नजिक, घटनापछि गाउँ छाडेकाहरुको खोजी सुरु

 

काठमाडौ । संखुवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जनाको तीन पुस्ताकै वंश नास हुने गरि भएको हत्याकाण्डको बारेमा प्रहरी प्रगति नजिक पुगेको छ । क्रुर मानिएको हत्याकाण्डको अनुसन्धानमा प्रहरीले धेरै तथ्यहरुलाई फेला पारेको बताइएको छ ।
गत सोमबार हत्या भएको ३ घण्टापछि सूचना पाएको प्रहरीलाई घटनास्थल पुग्न पनि ३ घण्टा नै लागेको थियो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी लालध्वज सुवेदीसहितको टोली साँझ ५ बजे र प्रदेश प्रहरी कार्यालयबाट गएको टोली साँझ ७ बजेतिर घटनास्थलमा पुगेको थियो ।

भौगोलिक विकटताका कारण घटनास्थलमा ढिला पुगेका प्रहरीले शवहरु यत्रतत्र सर्वत्र छरपस्ट भएर ढलेका फेला पारेका थिए । सोमबार घटनास्थल पुगेको प्रहरीको टोलीले मंगलबार बिहानबाट घटनाको अनुसन्धान अघि बढाएको थियो । संघीय प्रहरी इकाइ कार्यालय धरानबाट प्रहरी उपरीक्षक (एसपी) भीम दाहाल नेतृत्वको टोली सोमबार राति अबेर मात्र घटनास्थल पुगेको र पानी परिरहेको कारण मंगलबार विहानदेखि अनुसन्धान आरम्भ गरेको थियो ।

घरका सबैभन्दा अग्रज व्यक्ति ८५ वर्षीय बौद्धमान कार्कीबाहेक सामूहिक हत्या भएकाहरूमा ५८ वर्षीय तेज कुमार कार्की, ५१ वर्षीय कमला कार्की, २६ वर्षीय रञ्जना घिमिरे कार्की , ९ वर्षीय दिपने कार्की र ३ वषीय गोमा कार्कीको शव तीन फरक फरक स्थानमा फेला परेको थियो ।
आँखा देख्न र कान सुन्न नसक्ने बौद्धमान भने सकुशल रहेका छन् । घटनाबारे उनलाई स्थानीयले सोधपुछ गर्दा उनले मेलापातमा गएको होला भनेर भनेका थिए ।

सामूिहक हत्या हुनबाट बच्न सफल ८५ वर्षीय बौद्धमान कार्की

घटनास्थलमा प्रहरीले हत्या भएको क्षेत्रलाई नियन्त्रणमा लिई कडाइ गरेर सुरक्षित राखेको छ । अपराधीसम्म पुग्न सहज होस भन्ने हेतुले प्रहरीले प्राविधिक अनुसन्धान अघि बढाउन घटना भएकै दिन शवलाई नउठाउने निर्णयमा गरेको थियो ।
अनुसन्धानमा ट्रयाकर डग’ लैला र पिकुको प्रयोग

गम्भीर र रहस्यमय प्रकृतिको हत्याकाण्ड भएकोले अनुसन्धानलाई सुरु देखि प्रभावकारी बनाउन प्रदेश प्रहरी कार्यालय विराटनगरबाट गएको टोलीले तालिमप्राप्त कुकुर साथमा लगेको थियो ।

ट्रयाकर डग’ मानिने यी तालिम प्राप्त कुकुर लैला र पिकुलाई अनुसन्धानमा सहभागी गराइएको छ । यी दुबै कुकुर घटनास्थलको गन्ध सुँघेर अपराधी पत्ता लगाउने क्षमता भएका विशेष तालिमप्राप्त सहयोगी हुन् । तर हालसम्मको अनुसन्धानमा यी दुई कुकुरले पनि कुनै संकेत दिन सफल हुन सकेका छैनन् । तर अनुसन्धानको क्रममा धेरै तथ्य फेला परेको दावी गर्दै प्रहरीले अहिले नै ती विषय वस्तुहरु सार्वजनिक गर्न नमिल्ने बताएको छ ।

डिएसपी कुँवरको टोली घटनास्थलमा

अनुसन्धानलाई थप प्रभावकारी बनाउँन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली घटनास्थल पुगेको छ । सीआईबीका डीआईजी धिरजप्रताप सिंहका अनुसार डीएसपी रुगम कुँवरको कमाण्डमा तीन जनाको टोली मंगलबार संखुवासभा पठाइएको हो ।
घटनाको निकै सुक्ष्म अध्ययन भइरहेको र घटना निकै गम्भीर, जघन्य प्रकृतिको र रहस्यमय देखिएको प्रदेश नम्बर एक प्रहरी कार्यालयका प्रमुख डीआइजी अरुणकुमार विसीले न्यूज २४ लाई बताएका छन् ।

गाउँबाट हराएका व्यक्तिहरुको बारेमा सोधपुछ थालियो

अनुसन्धानको क्रममा प्रहरीले बुधबार विहानसम्म दर्जनौं व्यक्तिलाई बोलाएर बयान लिइसकेको छ । शंकास्पद मानिएका व्यक्तिहरूलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याइसकेको छ । घटनापछि गाउँबाट हराएका र गाउँमा नदेखिश्एका व्यक्तिबारे प्रहरीले सोधीखोजी थालेको छ । प्रहरीले स्याक आईडी, ल्याक आईडी हेर्ने काम समेतको विश्लेषन गरिरहेको बताइएको छ । प्रहरीले घटना भएको आसपासको समयमा त्यसक्षेत्रमा सक्रिय मोबाइल फोनहरुको रेकर्डमाथि पनि अनुसन्धान थालेको छ । प्राविधिक पाटोमा सहयोग गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी रुगम कुँवर नेतृत्वको टोली खटिएको छ ।

 

तीजपछि जग्गा किन्ने तयारीमा थियो कार्की परिवार

घटनामा मारिएका कार्की परिवार तीजपछि झापामा जग्गा किन्ने तयारीमा जुटेको थियो । जस्का लागि केही रकम बैनाबट्टा गरिसकेको र जग्गा किन्ने प्रयोजनका लागि ८० लाख जम्मा गरेको थियो । यस्को कारण घटनालाई धेरैले आर्थिक पाटोसंग जोडेर हेरेका थिए । तर अनुसन्धानको क्रममा घर भित्र १५ तोला सुन र लगभग ५ लाख नगद भेटिएपछि घटनामा आर्थिक पाटो नजोडिएको खुलेको छ । जस्को कारण आशंका गरिएको आर्थिक विषय अनुसन्धानमा कमजोर बनेको छ । घटनामा मारिएका तेजबहादुर कार्कीले उनका भाइ भुवनसिंह कार्कीसंग मिलेर झापामा जग्गा किन्ने तयारी गरेका थिए ।

घटनामा संलग्न संखुवासभाका डिएसपी लालध्वज सुवेदीले चोरी वा लुटपाटलाई जोडेर घटनालाई हेर्ने प्रयास गरेपनि त्यस्को पुष्टि नभएको न्यूज २४ लाई बताए । अब बाँकी शिराबाट अनुसन्धान थालिएको पनि सुवेदीको भनाइ छ । मंगलबार बिहान कुकुरबाट अनुसन्धान गराइएप्छि शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पु¥याइएको छ ।

न्युज२४बाट साभार गरिएकाे


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment