एमालेको प्रथम विधान महाधिवेशन आजबाट सुरू, ६ हजार प्रतिनिधि सहभागी

काठमाडौँ । नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । ललितपुरको गोदावरीमा रहेको सनराइज सम्मेलन हलमा सुरु हुने उक्त महाधिवेशनमा देशभरिबाट करिब ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

शुक्रबार (आज) एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन शत्रलाई अध्यक्ष ओलीलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

बिहीबारै दिइएको जानकारी अनुसार उद्घाटन शत्रपछि बन्दशत्र सुरु हुनेछ । त्यसक्रममा अध्यक्ष ओलीले पार्टीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव सम्मेलनमा पेश गर्ने कार्यक्रम रहेको छ । यी तीनवटै प्रस्ताव यसअघि पार्टीको केन्द्रीय कमिटी बैठकबाट पास गरिएको थियो ।

सम्मेलनको दोस्रो दिन अर्थात भोलि तीनवटै प्रस्तावमाथि समूहगत छलफल गरिने र १७ समूहगत छलफलबाट आएका सुझावको संक्षेपीकरण गर्दै सम्मेलन समापन हुने जनाइएको छ ।

महाधिवेशन व्यवस्थापनका लागि  स्थायी कमिटी सदस्य रामबहादुर थापाकाे संयोजकत्वमा एक मूल व्यवस्थापन समिति गठन गरिएको छ । समितिकाे सचिवमा शेरबहादुर तामाङ तथा सदस्यहरूमा कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ शेर्पा रहेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment