
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने बताएका छन् । बुधबार (आज) भक्तपुरको गुण्डुमा आयोजित कांग्रेसको सभालाई सम्बोधन गर्दै नेता थापाले अबका चुनावमा कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने बताएका हुन् ।
कांग्रेसको कसैसँग मिलेर चुनाव लड्ने ‘क्यारेक्टर’ नै नभएको दाबी गर्दै नेता थापाले भने, ‘हामीले कसैसँग मिलेर चुनाव लड्छौँ भन्दैमा हाम्रो कार्यकर्ताले अर्को पार्टीलाई गएर भोट हाल्दैनन् । मेरो निर्वाचन क्षेत्रमा मैले २५ हजार मत पाएँ । मैले मेरो पार्टीका क्रियाशील सदस्यलाई दुई गुणा गर्दा, मेरो सम्पर्कमा भएका समेतगरी १० हजार मान्छे चिनौँला, बाँकी रहेको १५ हजार भोट कसले हाल्यो ? मलाई नै थाहा छैन ।’
त्यस्तै उनले कांग्रेस एक्लैले शानदार ढंगले चुनाव लड्ने बताउँदै भने, ‘कांग्रेसले प्रचण्ड बहुमत ल्याएर चुनाव जित्छ । पाँच वर्षसम्म कांग्रेसले एकलौटी सरकार चलाउँछ । त्यतिञ्जेलमा कांग्रेसले यत्रो समयदेखि थुप्रिएर रहेका समस्याहरुको समाधान गर्नुपर्नेछ ।’
यसका साथै नेता थापाले आगामी निर्वाचनमा नेकपा (एमाले)लाई कुचो लगाएर बढार्ने बताएका छन् । उनले भनेका छन्, ‘हाम्रो पार्टीका सबै नेता, कार्यकर्ताले संकल्प गर्नुपर्नेछ । यो पटकको सबै चुनावमा नेकपा एमालेलाई बढार्ने हो । कुचो लगाएर बढार्ने हो ।’
उनले थप भने, ‘बढार्दा खेरि कहीँ कतै कुना–काप्चामा बाँकी रहेछ भने त्यसलाई भ्याकुम लगाएर बढार्ने हो ।’ त्यस्तै उनले महाधिवेशनका नाममा पार्टीमा नेता कार्यकर्ताका बीचमा एकापसको सम्बन्धमा तिक्तता नबढाउन आग्रह गरे ।
उनले भने, ‘मंसिरमा महाधिवेशन सकिन्छ, पुसदेखि झोला बोकेर चुनावमा होमिने हो । अधिवेशनको नाउँमा पार्टीभित्र तिक्तता नबढाऔँ । महाधिवेशन लगत्तै चुनावमा जानुपर्ने छ । त्यसलाई ध्यानमा राखेर महाधिवेशन होमिनुस् । अब तोकिएकै मितिमा महाधिवेशन हुन्छ ।’
0 comments:
Post a Comment