दुर्घटना न्युनिकरणका लागि प्रदेश १ मा आइतबारबाट ‘ट्राफिक सप्ताह’ शुरु


इलाम ४ पुषः बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न प्रदेश १ मा आइतबारबाट ‘ट्राफिक सप्ताह’ शुरु भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नम्बर १ बिराटनगर र १ नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरीको आयोजना प्रदेश एकका सबै जिल्लामा एकै साथ कार्यक्रम शुरु भएको हो । सम्वन्धित जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले कार्यक्रमको सहकार्य गरेको बताइएको छ ।  बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यक्रम थप प्रभावकारी हुने अपेक्षा लिइएको छ । 


यस्तै इलाममा समेत आज बिहान प्रभात फेरी सहित औपचारिक कार्यक्रम सम्पन्न भएको छ । इलाम बजारको ठुलो टुँडिखेलमा भेला भएर इलाम चोक बजारसम्म प्रभात फेरी भएको छ । कार्यक्रममा सुरक्षा निकाय, सवारी ब्यवसायी र चालक, बिद्यार्थी तथा स्थानियको सहभागिता रहेको थियो । सवारी चलाउँदा बेल्टको प्रयोग गरौँ, सवारी चलाउँदा मोवाइल फोन प्रयोग नगरौँ, मापसे गरि सवारी नचलाउँ जस्ता प्ले कार्ड सहित प्रभातफेरी निकालिएको थियो । 

यो साताभरी जिल्लामा सचेतना सहित सडकमा भएका अवरोध हटाइने ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख जनक तिम्सिनाले बताए । यस बिचमा चालकलाई प्रशिक्षण देखी सडकमा गएर जनचेतना जगाउने सम्मका कार्यक्रम गरिने उनले बताए । 

प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले सवारी नियमको जानकारी हुँदा हुँदै पनि हेलचेक्रेयाँइ बढेकाले दुर्घटना बढेको बताए । बढि जान्ने भएर सचेत नरही सवारी चलाउँदा समस्या बढेको उहाँको भनाई छ । 

जिल्ला प्रहरी कार्यालय इलामका निमित्त प्रमुख गंगाबहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । यस अघि पनि यस्ता क्रियाकलाप निरन्तर भए पनि जनचेतनाका लागि बिशेष बनाउन यो कार्यक्रम ल्याइएको बताइएको छ ।  

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment