काठमाडौंका दुईसहित ८ व्यक्ति मृत फेला


काठमाडौं २८ पुष। काठमाडौँमा दुईसहित विभिन्न जिल्लामा आज आठ व्यक्ति मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौँसहित सङ्खुवासभा, नवलपरासी (पश्चिम), ताप्लेजुङ, तेह्रथुम, सिरहा, नवलपरासी (पूर्व) मा यसरी मानिसको मृत्यु भएको हो ।

प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित गेष्ट हाउसमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ बस्ने ५० वर्षीय हर्कबहादुर गिरी आज मृत भेटिएका हुन् । गिरी सोमबारदेखि गेष्ट हाउसमा बस्दै आएकामा आफू बसेकै कोठाभित्र मृत फेला परेका थिए ।
यता काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरमा पार्किङ गरी राखेको पुरानो माइक्रोबसभित्र २२ वर्षीय एक पुरुष पनि मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।
यसैबीच सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ डडारे बस्ने ४० वर्षीय महेश राई मृत भेटिएका छन् । बिरामी भई डडारेस्थित जगत राईको घरमा सुतेका उनको शव वरण्डामा फेला परेको प्रहरीले जनाएको छ ।
उक्त घटनाको अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको छ । नवलपरासी (पश्चिम), बर्दघाट नगरपालिका–५ बस्ने २८ वर्षीय दिनेश थारु घर नजिकैको खेतमा र नवलपरासी (पूर्व), मध्यविन्दूस्थित नारायणी नदीको भङ्गालोमा एक पुरुष मृत भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
यस्तै ताप्लेजुङ, सिरिजङ्घा गाउँपालिका–५ पेदाङ बस्ने ६७ वर्षीय टीकाराम राई आफ्नै घर नजिकै मृत भेटिएका प्रहरीले जनाएको छ । उनी मिलमा गएकामा बेलुकासम्म नफर्कीएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।
तेह्रथुमको फेदाप गाउँपालिका–१ भोगटेनी बस्ने ५५ वर्षीय लाइनबहादुर लिम्बु सोही ठाउँस्थित कालिदह भिरमुनि मृत भेटिएका हुन् । मङ्गलबार मिस्त्रि काम गर्न गएकामा घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
यता सिरहाको मिर्चैया नगरपालिका–७ भालुखोलाको किनारमा परिचय खुल्न नसकेका करिब ४० वर्षीया महिला मृत अवस्थामा फेला परेको जनाइएको छ । सबै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता