इलामकाे तीनखुट्टेमा फासीको सजाय


इतिहासमा इलामकाे  तीनखुट्टेले फासीको दुखद सजाय भोगेको छ । त्यो इतिहासको एउटा सम्झन पनि मन नलाग्ने घटना हो । 
बि स २००० शुरु हुनु भन्दा निक्कै वर्ष अगाडि १९९० को महाभुकम्पको ताका हालको गोबिन योल्मोको घर रहेको ठाउमा लम्बा भनिने लाक्पा दोर्जी योल्मोलाई फासीको सजाय दिइएको थियो । मेरो मावली हजुरबुबा भन्नुहुन्थ्यो- यस्तै माघ फाल्गुनको दिन थियो रे । तत्कालीन बडाहाकिमले दुई जना प्रहरी र एक जना काट्ने मान्छे लिएर लम्बा मेमेलाई पेरुङ्गोमा हालेर ल्याए रे । मार्नुभन्दा अगाडि उनलाई मिठा मोठा खानेकुरा दिइयो रे । नसम्झ्योस भनेर रक्सी पनि खान दिइयो रे । र उनलाई  अहिले गोबिन योल्मोको घर रहेको ठाउँ त्यतिबेला खुल्ला डाडा भएको हुँदा त्यही सुत्न लगाइयो रे । उनी पनि लमतन्न सुते रे । 
उनको अनुहार छोपियो रे । आफन्तहरु कहालीलाग्दो गरेर रोइरहे रे । तर निर्दयी प्रशासनले त्यो सुनेन रे । अनि काट्नेलाई आदेश दिइयो रे ।  काट्ने मान्छे निक्कै हिच्किचाएका थिए रे । अन्ततः  उनी काट्न तयार भए रे । पहिलो पटक भुईमा हाने रे दोस्रो पटक हान्नै सकेनन रे । काट्ने मान्छेलाई दुई चड्कन लगाइएछ । अन्तिम पटक उनले च्वाट्टै छिनाए रे । यसरी मान्छे छिनेपछी टाउको चाहिँ अहिलेको खोल्सामा रहेको धारा सम्म उफ्रेर पुग्यो रे शरीर चाहिँ त्यही मडारिरह्यो रे । 
शरीरबाट निस्केका रगतका सिर्का चाहिँ अहिलेको बिजुली तार भन्दा माथी पुग्यो रे । त्यो सिर्काले भैंसी चराउदै त्यो सब हेरिरहेका मेरा मावली हजुरबुबालाई पनि लाग्यो रे। काट्ने मान्छे चाहिँ फेरि कसलाई काट्नु भन्दै कुदिरहे रे अन्तिममा प्रहरीले समातेर बाधेर राखे रे । हेर्दा हेर्दै आकाश मडारिएर आयो रे । कुनै ठुलै बिपत्ति हुन लागे जस्तो भयो रे । पछि ठूलो पानी पर्‍यो रे । सबैमा रुवाबासी र आफन्त गुमाउदाको पीडा वर्णन गर्न नसकिने अवस्था बन्यो रे । पछि आफन्तजनले उनको शवलाई जम्मा पारेर भोलिपल्ट बौद्ध धर्म परम्परा अनुसार दाहसंस्कार गरे रे।  

को हुन लम्बा मेमे ???

शरीर अग्लो भएको हुदा उनलाई लम्बा भनिएको रे। उनको वास्तविक नाम लाक्पा दोर्जी रहेको मेरा हजुरबुबा भन्नू हुन्थ्यो । उनी पुर्ण बहादुर योल्मो माजन माइला र साङ्बु योल्मो लेकघरका मावली हजुरबुबा हुन । अर्थात माजन माइलाका बुवा र साङ्बु योल्मुका बुवाले लम्बा मे मे का छोरीहरु बिहे गरेको रहेछ । उनको घर गोर्खे बजारमा थियो रे । अहिले हिमाल मास्के सरको घर भएको  छेउमा थियो रे। उनी यति अग्ला थिए रे कि मेहेलबोटेमा हिडेको जीलबाट प्रष्ट देखिन्थ्यो रे । 

के थियोे कसुर ? 

हजुरबुबा भन्नुहुन्थ्यो लम्बा मेमे लाई बडाहाकिम सन्तबिर लामाका दाजुलाई मारेको आरोप लागेको थियो रे । उनी धेरै समय लुकेर बसे रे पान्दाममा पनि लुकेर बसेका थिए रे । पान्दाम बसेको पोल पुगेपछि उनी कन्याम काजीमान कागते दाजुहरुको घरमा बसेका थिए रे । त्यहा पनि थाहा भए पछि उनलाई झुक्याएर त्यही पक्राउ गरिएछ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment