हट्ला त तातोपानी र रसुवागढी नाकाको अवरोध ?

  • नवीन ढुंगाना 

काठमाडौं । नेपालको दोस्रो ठूलो व्यापार साझेदार मुलुक चीनले उत्तरतर्फका दुई महत्वपूर्ण नाका तातोपानी र रसुवागढीमा नेपाललाई बाटो छेकेको दुई वर्ष भयो । चिनियाँ नयाँ वर्षका कारण १५ माघ २०७६ देखि बन्द भएको नाकाबाट नेपालले गर्ने निर्यात अहिलेसम्म शून्य छ ।
आर्थिक वर्ष २०७६/०७७ मा रसुवागढी नाका भएर नेपालले ५८ करोड २३ लाख  र तातोपानीबाट १३ करोड ७६ लाख रुपैयाँको माल वस्तु निर्यात गर्नु नै स्थलमार्गको अन्तिम निर्यात विवरण भएको भन्सार विभागले जनाएको छ । उत्तरी सीमाबाट हुने आयातलाई पनि कोटामा सिमित गरेको चीनले स्थलमार्गको बाटो भएर हुने नेपालको सानो निर्यातलाई पनि रोकिरहेको छ ।
भूकम्प र कोरोनाका कारण सिथिल बनेको छिमेकको सानो व्यापार साझेदार मुलुक नेपाल र चीन बीच द्धिपक्षीय व्यापार चिनियाँ निती कै कारण खस्किदैं गएको छ । उत्तरी सीमा नाका भएर व्यापार गर्ने नेपालीहरुले चीनले अघोषित नाकाबन्दी गरेको भनी आरोप लगाइरहेकै बेला चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।
निर्यात सकसको २ वर्ष
व्यापार तथा निकासी प्रर्वदन केन्द्रको तथ्याङ्कअनुसार नेपालले जडीबुटी, हस्तकला, खाद्यन्न, कार्पेट, गलैंचासहितका वस्तु चीनतफ निर्यात गर्छ । गत आर्थिक वर्षको वस्तुगत विवरणअनुसार नेपालले एक हजार ४४ प्रकारका वस्तु चीन निर्यात गरेको केन्द्रले जनाएको छ । तर, आर्थिक वर्ष ०७७/०७८ र ०७८/०७९ को दुई वर्षमा नेपालको उत्तरी दुवै नाकाको व्यापारमा चिनियाँको मात्रै एकाधिकार छ ।
कोटा प्रणालीमार्फत नेपालतर्फ हुने निर्यातलाई कडाई गरेको चीनले आफ्नो मुलुकतर्फको नेपाली वस्तु आयातमा पूर्ण बन्देज लगाएको छ । दुई नाकाबाट ०७७/०७८ मा २२ अर्ब ८६ करोड ४० लाख रुपैयाँ बराबरको वस्तु नेपाल भित्रिदा नेपालको निर्यात शून्य छ ।
उक्त वर्ष तातोपानी नाकाबाट ५ अर्ब ८४ करोड र रसुवागढीबाट १७ अर्ब एक कारोडको वस्तु नेपाल आएको थियो । यस्तै चालु आवको फागुनसम्म पनि निर्यातमा कुनै प्रगति छैन् । तातोपानी नाकाबाट ८ महिनामा ९ अर्ब ६ करोडको वस्तु आयात हुँदा सो नाकाबाट हुने निर्यात शून्य छ । यस्तै रसुवागढीबाट १८ अर्ब ४७ करोडको वस्तु भित्रिदा निर्यात शून्य नै छ ।
भन्सार विभागको विवरणअनुसार स्थलमार्गको नाकामा भएको अवरोधका कारण नेपाली निर्यातकर्ताले चिनियाँ बजारमा प्रतिस्पर्धा गर्नै नसक्ने अवस्था भएको छ । जसले समग्र द्धिपक्षीय व्यापार नै ओरोलोतर्फ लोगेको तथ्याङ्कले देखाउँछ । सन् २०१८ मा नेपालले चीनतर्फ २४ अर्ब २८ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेकोमा स्न २०१९ मा यस्तो निर्यात २० अर्ब ३९ करोडमा झरेको थियो । यस्तै २०२० मा निर्यात जम्मा ६८ करोड १० लाखमा खुम्चिएको छ ।
सीमाको वर्तमान अवस्था
अहिले रसुगढी नाकाबाट दैनिक १४ वटा चाइनिज कन्टेनरमा सामान आइरहेको रसुवा भन्सार कार्यालयले जनाएको छ । स्याउ, लत्ताकपडा रकेही मेशनरी सामानहरु नेपाली पक्षले तयार पारेको आइसोलेसन वार्डमा चिनियाँ कन्टेनरमा सामान आउँछ र नेपाली ट्रकमा राखेर भन्सार पास गरिन्छ । भन्सारका अधिकारीकाअनुसार नगण्य मात्रामा आयातका कारण राजश्व पनि निकै कम उठ्ने गरेको छ ।
तातोपानी नाकाको अवस्था झनै दयनीय छ । अहिले दैनिक ७ वटा मात्रै कन्टेनर तातोपानी भन्सारमा भित्रिन्छन् । यसअघि दैनिक ५/६ वटा मात्रै कन्टेनर आउने गरेकोमा अहिले त्यो बढेर ७ वटा पुगेको हो ।
दुवै नाकाबाट चीनतर्फ हुने निर्यात शून्य छ । सीमा रहेको भन्सार र प्रशासनका अधिकारीहरुका अनुसार कोभिडलाई नै प्रमुख बनाएर चिनियाँ अधिकारीहरु प्रत्यक्ष भेटघाटमा समेत तर्किरहेका छन् ।हामी थाक्यौं : व्यवसायी
चीनतर्फको व्यापार सहजीकरण गरिदिन गरिएको आग्रहबाट आफूहरु आजित भएको व्यापारीहरुले बताएका छन् । निर्यात खोल्न र आयात सहज बनाउन आग्रह गर्दै नभेटेको र ज्ञापन पत्र नबुझाएको कुनै निकाय नै नरहेको नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ ।
वाणिज्य मन्त्रालयदेखि अर्थ, परराष्ट्र हुँदै प्रधानमन्त्री र चिनियाँ दूतावाससम्मै कुरा पुर्‍याए पनि सम्बोधन नभएको संघका निवर्तमान अध्यक्ष बच्चु पौडेलले बताए । ‘हामी त बोल्दा बोल्दै थाक्यौं, बरु नाका पूर्ण रुपमा बन्द गरौं,’ पौडेलले भने  ‘कोभिड हुँदा पनि र नहुँदा पनि चिनियाँले व्यापारमा एकाधिकार मात्रै जमाउने गरी नेपाली व्यवसायीलाई दुःख दिएको छ ।’
चिनियाँ अवरोधका पहिलो वर्ष नेपालीले व्यवसायीले निकै हण्डर खाएका कारण धेरैले चीनतर्फको व्यापारबाट हात झिकेको उत्तरी नाकाबाट व्यवसाय गर्ने सिल्क रोड ट्रान्सफोर्टका कार्यकारी निर्देशक कल्याण सिलवाल बताउँछन् । समान बाटोमै कुहिने, माल वस्तु आयातमा चिनियाँले एकाधिकार कायम गर्ने देखि आवश्यकताअनुसार वस्तुको आयात र निर्यातमा बाधा भोग्नु परेको उनले बताए । चिनियाँकै कारण रासायनिक मल आयात समेत प्रभावित भएको कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । चीनकै कारण झण्डै डेढलाख मेटि्रकटन रासायनिक मल आयातमा दुई महिना ढिलाइ भएको कम्पनीका निमित्त प्रबन्ध निर्देशक राजेन्द्र कार्कीले बताए ।
सरकारसँग पनि उही मुद्दा
व्यापार कूटनीति र द्वीपक्षीय वार्तामा फितलो उपस्थिति देखाइरहेको वाणिज्य मन्त्रालयले उच्चस्तरीय भ्रमणमा पनि तातोपानी र रसुवागढी नाका खुल्लाको बहसलाई प्रस्तावको रुपमा अघि सारेको छ । परराष्ट्र मन्त्रालयमार्फत अघि बढाइएको एजेण्डामा आयात-निर्यातको अवरोध हटाउन चिनियाँ विदेशमन्त्रीलाई आग्रह गर्ने भनिएको मन्त्रालयका एक अधिकारीले बताए ।
त्यसबाहेक मन्त्रालयले व्यापार पूर्वाधार अन्र्तगत रसुवागढी बन्दरगाह निर्माण चुस्त बनाउन र हुम्ला तथा सुस्ताङको कोरोलामा व्यापार पूर्वाधारमा सम्झौताको प्रस्ताव राखेको छ ।
वाणिज्य विज्ञ रबि शंखर सैजु नेपाल चीन व्यापारको समस्या नेपाली पक्ष पनि जिम्मेवार रहेको बताउँछन् । चिनियाँ पक्षले कोभिड प्रोटोकललाई कडाइ गरेकोमा उसको संवेदनशिलतालाई नेपालले बुझ्न नसकेको उनले बताए ।
चीनले नेपालसँग मात्रै नभइ अरु मुलुकसँग पनि समान व्यवहार गरेको भन्दै उनले नेपालले सरकारी तहबाट यसलाई सम्बोधन गर्नुपर्ने बताए । नेपालले चिनियाँ सीमातर्फको व्यापार पूर्वाधार निर्माण जोड दिनुपर्ने उनको भनाइ छ ।
अनलाइन खबरबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment