आशिष स्मृति पत्रकारिता पुरस्कारले भगिरथ भण्डारी सम्मानित


इलाम। पत्रकार भगिरथ भण्डारी आशिष स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्। स्थानीय पत्रकार आशिष राईको स्मृतिमा नेपाल पत्रकार महासंघ इलाम शाखाले स्थापना गरेको यो पुरस्कारले आज बैशाख १ गते भण्डारीलाई सम्मान गरिएको हो। 

महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले भण्डारीलाई नगद १० हजार सहित सम्मान पत्र हस्तान्तरण गरे।

२०५९ साल बैशाख १ गते पत्रकार आशिष राईको निधन भएपछि उनको स्मृतिमा इलाम शाखाले यो पुरस्कार स्थापना गरेयता मेचीका १९ जना पत्रकार पुरस्कृत भैसकेका छन्। यो पुरस्कार सञ्चालन गर्न महासंघ इलामले एउटा कोष नै स्थापना गरेको छ।

पुरस्कार कोषमा महासंघका पूर्व केन्द्रीय सभापति बिष्णु निष्ठुरीले आजै पन्ध्र हजार रुपैयाँ योगदान गरेको अध्यक्ष विप्लव भट्टराईले जानकारी दिएका थिए। साथै आजै प्रदेश उपाध्यक्ष ढुंगानाले तीन हजार र झापा अध्यक्ष गिरीले शाखाको तर्फबाट सात हजार सातसय सतहत्तर रूपैयाँ कोषमा योगदान गरे।

नववर्षका दिन आयोजित समारोहमा इलाम जिल्ला समन्वय समिति प्रमुख गणेश बराल, इलाम नगर प्रमुख महेश बस्नेत, महासंघका १ नं प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरे, उपाध्यक्षद्वय हिमा चेम्जोङ र लवदेब ढुंगाना, झापा शाखा अध्यक्ष एकराज गिरी, पूर्व पूर्वाञ्चल उपाध्यक्ष सञ्जय सन्तोषी राईसहित इलाम, झापा र धनकुटाका पत्रकारको सहभागिता थियो।

इलाम शाखा अध्यक्ष विप्लव भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिथीहरुसहित पुरस्कृत ब्यक्तित्व भण्डारी, पूर्व प्रदेश उपाध्यक्ष सोमनाथ सुसेली, इलामका प्रहरी प्रमुख महेन्द्र कुमार श्रेष्ठ, देवी क्षेत्री दुलाल र शाखा उपाध्यक्ष ख्याम भुजेलसमेतले स्वर्गीय पत्रकार आशिष राईलाई सम्झिएका थिए।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment