गभर्नर निलम्वन र देश श्रीलंका बन्दै गरेको विषयमा अर्थमन्त्रीको प्रष्टिकरण


पछिल्लो समय अमेरिकाबाट आएको ४० करोड र अछामको बान्नीगढी जयगढ घर भएका पृथ्वीबहादुर शाहका कारण सामाजिक सञ्जाल तातेको छ। सोही प्रकरणले गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेपछि यो विषय अझै चर्चामा छ।
यतिमात्रै होईन, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सरकार हुँदा अर्थमन्त्री वनेका तीन/तीन जनाले आईतवार पत्रकार सम्मेलन गरेर देश आर्थिक रुपमा टाट पल्टिन लागेको र श्रीलंका वन्ने तर्फ उन्मुख रहेको वताए । एमाले अध्यक्ष कपी शर्मा ओलीले त अव सरकारले वृद्धभत्ता नै रोक्छ भन्ने आशयको अभिब्यक्ति दिएपछि सवैको चासो अर्थमन्त्री जनार्दन शर्मातर्फ देखियो।
सामान्यतयाः एमालेले लगाएका आरोपको खण्डन गर्दै आएका उनले सोमवार पत्रकार सम्मेलननै गर्नुपर्ने अवस्था आयो। उनले अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरेर पृथ्वीबहादुर र उनले ल्याएको भनिएको ४० करोडबारेमा प्रतिक्रिया दिए।
उनले ४० करोड भन्ने कुरा आफुलाई थाहा नभएको वताए । ‘धेरै निवेदनहरु मकहाँ आउँछन्। आएपछि म सम्बन्धित महाशाखामा पठाइदिन्छु। यो के हो बुझिदिनुहोला। हेरिदिनुहोला भनेर पठाउने कुरा एउटा मन्त्रीको हैसियतले कर्तव्य हो। त्यो पृथ्वीबहादुर भन्ने मान्छेसँग मेरो न चिनजान छ नाताको त कुरै छोड्नुहोस्। नाता कहीँ जोड्दै गएर पछि मिलाउने कुरा त एउटा होला।’ उनले भने–‘तर नाताको कहीँ सन्दर्भै छैन। देखेको के हो भने एक दिन एउटा मान्छे निवेदन दिन आएको थियो। रुँदै आएर रोएर मेरो यस्तो भयो भनिसकेपछि गल्ती गरेको होला नि भन्दा होइन यहाँ छानबिन छ भनेर भनिसकेपछि बुझिदिनुहोस् है भनेर मैले पठाउनु मेरो कर्तव्य हो क्या!’
पछिल्लो समय अछामका ती व्यक्तिले ४० करोड नेपाल ल्याएको र त्यसलाई राष्ट्र बैंकले आवश्यक अनुसन्धान गरिरहँदा अर्थमन्त्री शर्माले छोडिदिन दबाब दिएका कुरा बाहिरिएको थियो। यसैलाई लिएर पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले त मन्त्री शर्मामाथि अघिल्लो दिनमात्रै जेलै जाने अपराध गरेको दाबी गरेका थिए।
केही दिनअघि राष्ट्र बैंककै कार्यक्रममा पनि राष्ट्र बैंककै सञ्चालकले कमिसन मागेको अर्थमन्त्री शर्माले दाबी गरेका थिए।
गभर्नरमाथिको कारबाही कानुन सम्मत 
अर्थमन्त्री शर्माले गभर्नरमाथि गरिएको कारबाही कानुन सम्मत भएको बताए। छानविन समितिको रिपोर्ट आएपछि धेरै कुरा प्रष्ट हुने उनको भनाई छ।
समितिले काम गरिहेको बेलामा गभर्नरमाथि लागेको आरोपबारे धेरै नबोल्ने उनले बताए । अनुत्पादक क्षेत्रमा भएको कर्जा प्रवाहबारे आफूले पटकपटक चासो राख्दा पनि सुनुवाइ नभएको उनले बताए ।
८ महिनाको आर्थिक सूचक सार्वजनिक
अर्थमन्त्री शर्माले विदेशी मुद्राको सञ्चिति करिब सात महिनाका लागि पर्याप्त रहेको बताएका छन् । ‘असार मसान्त २०७८ सम्म १३९९ अर्ब ३ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति १६.२ प्रतिशतले कम भई फागुन मसान्त २०७८ सम्म ११७१ रुपैयाँ कायम हुन आएको देखिन्छ । उक्त सञ्चिति करिब ६.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको देखिन्छ’– उनले भने।
नेपाललाई श्रीलंका बनाउन किन हतार ? 
शर्माले देश श्रीलंका बन्छ भन्नु अफवाह भएको बताएका छन् । उनले एमाले अध्यक्ष ओलीले राष्ट्रघात गरेको आरोप पनि लगाए । ‘विदेशी पानी खाएर हुर्किएका केही नागरिकको कुरा सुन्ने हो भने वृद्ध भत्ता पनि दिन नसक्ने ..भन्न सकिन्छ’ उनले भने–‘देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात हो । श्रीलंका बनाउन किन चासो भइरहेको छ ? अचम्म लाग्छ ।’
सरकारी  इन्धन खर्च कटौती गर्ने प्रस्ताव
शर्माले सरकारी प्रयोजनमा हुने पेट्रोलियम इन्धनको खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको बताएका छन् । अर्थतन्त्रको संकट टार्न सार्वजनिक विदाको दिन सरकारी सवारी प्रयोग नगर्ने गरी प्रस्ताव गरेको बताए । ‘हामीले गरेको प्रस्ताव मुख्यसचिव ज्युको समितिले अध्ययन गरिरहेको छ,’ उनले भने–‘विप्रेषण आय बढाउने गरी वैदेशिक रोजगारीमा रहेकाहरुले लगानी गर्ने सञ्चित कोष बनाउने, आईपीओ र एफपीओमा कोटा दिने, रेमिट्यान्स कम्पनीलाई वालेट प्रयोग गर्न दिनेजस्ता प्रस्ताव गरेका छौं ।’
उनले भारतीय बजारमा पेट्रोलियम पदार्थको तस्करी रोक्ने र वैदेशिक लगानी ल्याउन हेजिङ लगायतका दीर्घकालीन निर्णय गर्ने पनि उनले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment