स्थानीय निर्वाचनका लागि मुलुकभर सम्पूर्ण तयारी पूरा : निर्वाचन आयोग

 २९ बैशाख २०७९, बि


हीबार

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । आयोगले बिहीबार नियमित पत्रकार सम्मेलनमा देशभरका सबै मतदान केन्द्रमा निर्वाच्नका लागि तयारी पूरा गरेको जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ को सम्पूर्ण तयारी पूरा भइसकेको बताए । उनले निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अघिबाट मौनावधि शुरु हुने व्यवस्था बमोजिम वैशाख २७ गते मध्यराति १२ बजेपछि शुरु भएको मौनावधिमा निर्वाचन आचारसंहीता २०७८ को पालनामा आयोगले विशेष सजगता अपनाएको पनि जानकारी दिए ।

त्यस्तै आयोगले आचारसंहिता लागू भए यता हालसम्म आचारसंहिता उल्लंघनका घटनामा ६६ वटा स्पष्टीकरण सोधिएको छ भने ९ वटा सचेत, १ वटा ध्यानाकर्षण गराइएको पनि जानकारी दिए । उनले आचारसंहिता उल्लंघन गरेको भन्दै विभिन्न पार्टीका नेताहरुलाई पनि स्पष्टीकरण सोधेको बताए ।

सहप्रवक्ता अर्यालले भने, ‘निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ को सम्पूर्ण तयारी पूरा गरेको छ । निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अघिबाट मौनावधि शुरु हुने व्यवस्था बमोजिम वैशाख २७ गते मध्यराति १२ बजेपछि शुरु भएको मौनावधिमा निर्वाचन आचारसंहिता २०७८ को पालनामा आयोगले विशेष सजगता अपनाएको छ ।’

उनले थपे, ‘यसअवधिमा आचारसंहिताको कार्यान्वयनको लागि नियमित अनुगमन संयन्त्रका साथै निर्वाचन अनुगमन टोलीले पनि काम गरिरहेको छ । विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट प्राप्त उल्लंघन गरेका सूचनालाई पनि आयोगले जानकारीमा लिइ आवश्यक कार्यहरु गरिरहेको छ । आचारसंहिता लागू भए यता हालसम्म आचारसंहीता उल्लंघनका घटनामा ६६ वटा स्पष्टीकरण सोधिएको छ भने ९ वटा सचेत, १ वटा ध्यानाकर्षण गराइएको छ ।’

त्यस्तै उनले निर्वाचन आचारसंहिताको उल्लंघन हुनेगरी मौन अवधिमा क्रियाकलाप गरेको विषयमा आयोगले नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र नेकपा (माओवादी केन्द्र) का वागमती प्रदेश कमिटी सदस्य गंगा दाहाललाई वैशाख २८ गते २४ घण्टे स्पष्टीकरण सोधेको जनाएका छन् ।

उनले भनेका छन्, ‘गुरुङले सेतोपाटी अनलाइनमा प्रकाशित एमाले उम्मेदवारलाई मत दिएर जिताउन आग्रह गरिएको भिडियो आफ्नो अकाउण्टबाट बुधवार बिहान ८ः१० बजे पोष्ट गरी आचारसंहिता विपरित अपील गरेको र गंगा दाहालले व्यक्तिगत फेसबुक पेजमा भरतपुर महानगरपालिकाका प्रमुखका उम्मेदवार रेणु दाहाल, उपप्रमुखका उम्मेदवार चित्रसेन अधिकारीलाई अत्याधिक मतले विजयी गराउँ भन्ने अनुरोध गरी शेयर गरेको विषयमा स्पष्टीकरण सोधिएको हो ।’

उनले फेरि भनेका छन्, ‘निर्वाचन आचारसंहिता २०७८ को दफा १६ (घ) बमोजिम मौनावधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भातृ संगठन वा सम्बन्धित व्यक्तिले सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री, पोष्ट वा शेयर गर्न वा गर्न लगाउन नहुने व्यवस्थाप्रति आयोग सम्बन्धित सबैमा पुनः ध्यानकर्षण गराउन चाहन्छ ।’

उनले थपे, ‘आयोगले मतदातालाई अनुचित प्रभाव पार्नेगरी अभिव्यक्ति दिएको विषयमा परेको उजुरीका आधारमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. आरजु राणा देउवालाई वैशाख २८ गते २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको छ । राणाबिरुद्ध कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा आयोजित कार्यक्रममा मतदातालाई आर्थिक प्रलोभन देखाउने किसिमको अभिव्यक्ति दिएको भनि आयोगमा उजुरी प्राप्त भएको थियो ।’

यसका साथै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चितवनको भरतपुरमा आयोजित चुनावी सभामा दिएको अभिव्यक्तिका सम्बन्धमा वैशाख २८ गते पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र आयोगमा स्पष्टीकरण बुझाउन पत्राचार गरिएको जानकारी गराएका छन् । दाहालले वैशाख २३ गते भरतपुरमा आयोजित सभामा भरतपुर महानगरको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाललाई मतदान नगरी पराजित गराएमा देश दुर्घटनामा जानसक्ने भनि आम मतदातालाई धम्क्याउने उदेश्यले प्रेरित भइ आपत्तिजनक अभिव्यक्ति दिएको उल्लेख छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट कलैया उपमहानगरपालिका वडा २३ का वडाध्यक्षका उम्मेदवार विक्रम साहलाई चुनाव चिन्ह अंकित टिसर्टसहित प्रचारमा देखिए माओवादी नेता साह शीर्षकको अनलाइनको वैशाख ८ गतेको संस्मरणमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण गराउँदै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी क्रियाकलाप गरेको विषयमा आायेगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । मन्त्री आलेविरुद्ध आयोगमा डोटीको जोरायल गाउँपालिकामा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको संयुक्त आयोजनामा वैशाख २६ गते भएको चुनावी सभामा पार्टीका लागि मत मागेको, मतदाता भड्काउन भ्रमात्मक भाषण दिएको, तडकभडक गर्दै भोजभतेर गरेको, मतदातालाई रकम बाँडेको, गाउँपालिकामा नेकपा एमालेका अध्यक्षका उम्मेदवार दुर्गादत्त ओझको चरित्र हत्या गर्ने खालका सम्पादित भिडियोहरु सार्वजनिक स्थलमा राखेको, गुण्डागर्दी गर्दै अराजक टिम परिचालन गरी ज्यान मार्ने धम्की दिएको व्यहोरासहितको उजुरी आयोगमा प्राप्त भएको उनले जानकारी दिए ।

त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय सरावगीले निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी क्रियाकलाप गरेको विषयमा आयोगले २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको उनले बताए । सरावगीले वैशाख २६ गते राति १२ः३० बजे महानगरको वडा १६ स्थित एक मतदाताको घरमा प्रवेश गरी मत खरिद गर्न नगदको लेनदेन गरेको भनि जनता समाजवादी पार्टी नेपालकावीरगञ्ज महानगर कमिटीका अध्यक्ष, ईश्वरचन्द्र यादवको उजुरीका आधारमा आयोगले सरावगीसँग जवाफ माग गरेको हो ।

वैशाख ३० गते सम्पन्न हुने निर्वाचनका दिन वर्षाका कारणले मतगणना र मतदान कार्य प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामग्रीसमेत सुरक्षा गर्न आयोगले सरकारका सम्वद्ध निकायहरुलाई निर्देशन दिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमmु वातावरणमा सम्पन्न गर्न आयोगले मतदानका दिन आन्तरिक रुपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गराउन नेपाल सरकार गृहमन्त्रालयलाई लिखित पठाइसकेको जानकारी गराइएको छ ।

निर्वाचनका कार्यमा खलल नहुने गरी एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारी, दमकल, दूर सञ्चार तथा केवल सेवा, शव वाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सकले प्रयोग गर्ने सवारी, फोहारमैलाका साधन, तरकारी, विद्युतका साधन र कुटनीतिक सवारी साधनको हकमा सवारी अनुमति पत्र दिनुपर्ने छैन ।

मतदानका दिन उपत्यकाभित्र सञ्चारकर्मीहरुको आवगमनलाई सहजीकरण गर्ने सम्बद्धमा देहाय बमोजिम गर्ने गरी व्यवस्था मिलााउन नेपाल सरकार गृहमन्त्रालयलाई निर्देशन दिइएको छ । नेपाल सरकार वा प्रदेश सरकारको आधिकारीक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मीहरुका हकमा त्यस्ता सञ्चारकर्मीले प्रयोग गर्ने, सवारीसाधनका लागि सवारी अनुमतिपत्र आवश्यक नपर्ने भएको छ ।

प्रेस पास नभएका सञ्चारकर्मीहरुको हकमा सम्बन्धित सञ्चारगृहको आधिकारिक पत्रमार्फत अनुरोध भइ आएमा प्रमुख जिल्ला अधिकारी काठमाडौंले सवारी अनुमतिपत्र जारी गर्न सक्ने आयोगले जानकारी दिएको छ ।

आयोगले ७७ जिल्लाका मुख्य अधिकृतको कार्यालय, ६७६ वटा निर्वाचन अधिकृतको कार्यालय, ७ वटा प्रदेश निर्वाचन काार्यलय र ७० वटा जिल्ला निर्वाचन कार्यालयलाई वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रम मतदाता शिक्षाको काम वैशाख ३० गते नगर्न अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment