इलाममा चुनावी प्रचारमै व्यस्त दलहरु


स्थानीय तहको निर्वाचन आउन अब एक आठ दिनमात्रै बाँकी रहँदा जिल्ला स्थित राजनीतिक दलहरु चुनावी प्रचारमा घर–घर पुगिरहेका छन् । ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस देखि साना उम्मेदवारी दिएका राजनीतिक दलहरु आफ्ना उम्मेदवारका लागि मत माग्दै चुनावी प्रचारमा व्यस्त छन् ।

राजनीनितिक दल र कार्यकर्ताका लागि जस्तै यतिबेला विषेश गरेर किसानहरुका लागि पनि व्यस्त समयनै हो इलाममा । चिया टिप्ने देखि कमै गोड्ने सिजनमा घरमै नभेटिने किसान मतदातालाई भेट्न उम्मेदवारहरु खेतबारीमै पनि पुग्न थालेका छन् ।

आफ्नो पार्टीको घोषणा पत्र, अवधारणा पत्र र फरक–फरक किसिमका विकासे एजेन्डा लिएर मत माग्दै गाउँ केन्द्रित दलहरु दिउसो–राती नभनि मतदाताको घर–घर पुग्ने प्रयासमै छन् । त्यसोत चुनावी गीतले पनि निर्वाचनको रौनक निकै बढाएको छ । जिल्लाका ८१ वटै वडा र दशवटा पालिकाका प्रमुख उपप्रमुखका लागि प्रतिस्पर्धा निकै रमाइलो बनेको छ ।

मतदाताकै टोलमा पुगेका नेकपा एमालेबाट सूर्योदय नगरपालिका प्रमुखका उम्मेदवार काजीमान कागतेले फरक शैलीमा मतदातालाई सम्झाए ‘कम्तिमा तपाईंले आफूले पाएको अधिकार के हो त्यो बुझ्न जरुरी छ । स्थानीय सरकार मार्फत आउने अनुदान, लक्षित समुदायको बजेट, त्यसको खर्च, कृषि अनुदान, अनुदानको कृषि सामग्री उपलब्धता, गाउँमा कसरी विकासका काम भइरेका छन् र गरिब जनताले सरकार मार्फत कसरी सेवा सुविधा लिंदैछन् भन्ने कुरा तपाईंहरुले गएको पाँच वर्षमा कसरी लिनु भयो र आफ्नो अधिकार प्रयोग गर्नुभयो ?’ कागतेले भने ‘तपाईंलाई मन परे भोट दिनुस् नपरे नदिनुस् तर आफ्नो अधिकार के हो त्यो खोज्नु होस, हामी भोट माग्न मात्र होइन, तपाईलाई तपाईंका अधिकारका बारेमा सचेत गराउँदै पनि आएका हौं ।’ जनता अधिकार खोज्न सक्षम भए भने टोल देखि गाउँ हुँदै समग्र नगरको विकासमा ठूलो टेवा पुग्ने कागतेको भनाइ छ ।

कतिपय नागरिकहरु लक्षित समुहको विकासका लागि प्राप्त गर्ने, बजेट, कृषि अनुदान, निःशुल्क स्वास्थ्य बीमाका विषयमा पनि बेखबर बनिरहेको र जनप्रतिनिधिले के गर्दै छ भन्ने विषयमा समेत बेखबर रहेको पाइएको कागते बताउँछन् । जिल्ला भरिनै घर–दैलोमा रहेको नेकपा एमालेले निर्वाचन नजिकिंदै गर्दा स्थानीय तह केन्द्रित कार्यक्रमहरु पनि तय गरिरहेको जनाइएको छ । स्थानीय तह केन्द्रित कार्यक्रममा जिल्ला तह देखि केन्द्र सम्मका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम एमालेको छ ।

यता इलाम नगरपालिका प्रमुखमा उम्मेदवारी दिएकी राप्रपाकी माया भट्टराई पनि चुनावी अभियानमै मतदाताका घर–घरमा पुग्दैछिन् । साङ्गरुम्बामा रहेकी भट्टराईले भनिन् ‘म इलाम नगरका मतदाताको घरदैलोमै छु,’ विषेश गरि बालबालिकालाई पढाउन नसक्ने गरिबहरुका लागि सहयोग गर्न छात्र वृत्तिको व्यवस्था देखि गरिब परिवारका सुत्केरी महिलालाई समेत भत्ताको व्यवस्था गर्ने लक्ष्य र एजेण्डा सहित मत मागि रहेकी भट्टराई जिल्लाका दशै पालिकामा प्रमुखमा उम्मेदवारी दिने एक्ली महिला हुन् ।

अघिल्ला निर्वाचनहरुको मत परिणामका आधारमा जिल्लाको ठूलो दल नेपाली कांग्रेसका उम्मेदवारहरु पनि अहिले घर–दैलोमै व्यस्त छन् । पाँच दलीय गठबन्धनमा रहेको कांग्रेसले जिल्ला केही पालिकाहरुमा गठबन्धन गरेपनि केहीमा एक्लै जस्तो लडेको छ । इलाम नगरपालिकामा कांग्रेस एक्लै लडेको भएपनि गठबन्धन भएका अन्य पालिकामा गठबन्धनका उम्मेदवारलाई जिताउन साझा ढंगले लागेको नेपाली कांग्रेस इलामले जनाएको छ ।

उता सूर्योदय र माइजोगमाईमा प्रमुख पद पाएको गठबन्धन भित्रको नेकपा एकृकित समाजवादीले भने इलाम नगरपालिकामा खुलेर कांग्रेस पार्टीलाई भोट माग्न असहज ठानि रहेको छ । इलाम नगरपालिकामा आफ्नो पार्टीको तर्फबाट एकै जना वडा सदस्य समेत नभएको समाजवादीलाई कसरी मतदाताको घरदैलोमा जाने भन्ने समस्यानै भएका समाजवादी निकट एक कार्यकर्ताले भने ।

गठबन्धनमै रहेको नेकपा माओवादी केन्द्र भने अहिले गठबन्धन भित्रै रहेर घरदैलो अभियानमा रहेको माओवादी केन्द्रले जनाएको छ । ‘हामी अहिले गठबन्धनमै छौं, केन्द्रिकृत र विकेन्द्रिकृत दुवै ढंगले घरदैलोमा छौं ।’ माओवादी केन्द्रकी जिल्ला सचिव शान्ता बस्नेतले भनिन् ‘अब २४ गतेदेखि गठबन्धनको संयुक्त कार्यक्रमका रुपमा क्षेत्रीय सभाहरुको कार्यक्रम तय गरिएको छ । तर सभामा को–को नेता आउने भन्ने टुङ्गो लाग्न बाँकी छ ।

जनता समाजवादी पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसनसहितका दलले पनि पार्टीका घोषणपत्रसहित मत मागिरहेका छन् । सबै स्थानीय तहमा उम्मेदवारी नदिए पनि उम्मेदवारी दिएका पालिकाहरुमा ठूला देखि साना सबै दलले चुनावी प्रचारप्रसार गरिरहेका छन् । 

इलाम अावजबाट साभार

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment