इलाममा नयाँ भाडादर तोकियो, इलाम बिर्तामोडको भाडा ४ सय ३० रूपैयाँ

१०  असोज     २०७९


इलाम । मेची राजमार्गसहित जिल्लाका एक सय ४३ सडक रुटको नयाँ सवारी भाडादर कायम गरिएको छ। मेची राजमार्गको इलाम–बिर्तामोड तथा इलाम–फिदिम रुटमा २२ प्रतिशत तथा राजमार्गबाहेकका सडक रुटको भाडादर १५ प्रतिशतले बढेको छ। तर, मेची राजमार्गबाहेकका सडकको चाहिँ अवस्था अध्ययन गरी एक महिनापछि भाडादर पुनरावलोकन गरिने भएको छ।
अब मेची राजमार्गअन्तर्गत इलाम–बिर्तामोडको भाडा ४ सय ३० र इलाम–फिदिमको भाडा ४ सय ८ रुपैयाँ कायम भएको छ। स्थानीय यातायात व्यवस्थापन समितिको आज ९आइतबार० बसेको बैठकले २०७८ असोज १८ मा तोकेको भाडादरलाई आधार बनाएर नयाँ भाडादर समायोजन गरेको हो। यसअघि तोकिएको आधिकारिक भाडादरअनुसार इलाम–बिर्तामोडको ३ सय ५३ र इलाम–फिदिमको ३ सय ३५ रुपैयाँ थियो।
समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले नयाँ भाडादर आजैदेखि लागू हुने बताए। ‘बैठकले निर्णय गरिसकेपछि नयाँ भाडादर लागू भएको छ,’ उनले भने, ‘मूल्यवृद्धिका सूचक, जिल्लाका सडकहरूको अवस्था र संघीय सरकारले तोकेको भाडादरलाई विश्लेषण गरी समितिले भाडादर कायम गरेको छ ।’
विभिन्न समयमा पेट्रोलियम पदार्थको मूल्य बढेको र अन्य कारण देखाउँदै सवारीका साधनले ०७८ असोज १९ देखि लागू भएको भाडादर आफूखुसी बढाएका थिए। तर, अहिले समायोजन भएको भाडादर व्यवसायीले आफूखुसी बढाएको भाडादरमा आधारित नभइ ०७८ असोज १८ को निर्णयका आधारमा कायम भएको प्रजिअ ढुंगानाले जानकारी दिए। ‘तोकिएभन्दा बढी भाडा लिएको पाए कारबाही हुनेछ,’ उनले भने, ‘व्यवसायीले कुनै पनि बहानामा तोकिएभन्दा बढी भाडा लिन पाउने छैनन् ।’ यसअघि राजमार्गबाहेकका सडकको दरभन्दा राजमार्गको भाडादर कम रहेकाले अहिले बढेको प्रतिशतबिन्दु चाहिँ राजमार्ग र अन्य सडकमा फरक देखिएको समितिले जनाएको छ ।
मेची राजमार्गबाहेकका सडकमा पोहोर भाडा निर्धारण गर्दा कच्ची रहेका सडक अहिले ग्राभेल वा पक्की बनेको हुनसक्ने र स्थानीय तहले निर्माण गरेका नयाँ रुटसमेत थप भएकाले त्यसको चाहिँ अध्ययन गरेपछि मात्रै भाडा कायम हुने समितिले जनाएको छ। ‘अहिले मेची राजमार्गबाहेकका सबै सडक रुटमा गतवर्ष तोकिएभन्दा १५ प्रतिशतले भाडा बढाएर समायोजन गरिएको छ,’ प्रजिअ ढुंगानाले भने, ‘तर, अबको एक महिनामा सबै ग्रामीण सडकको स्थलगत अध्ययन गरेर प्रतिवेदन आएपछि मात्रै बढेको १५ प्रतिशतलाई निरन्तरता दिने वा सुध्रिएका सडकको भाडादर अझ घटाउने भन्ने अर्को निर्णय हुनेछ ।’
समितिले यसअघि र यो बैठकमा यातायात व्यवसायीसँग भएका सहमति कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ। ‘भाडादर लागू हुने र यात्रुलाई सवारी साधनले दिने सुविधाको अनुगमन तथा कारबाही प्रशासनले कडाइका साथ गर्नेछ,’ प्रजिअ ढुंगानाले भने।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment