झलनाथ खनालको आक्रोश : ‘खड्ग प्रसाद ओलीलाई हामीले के मा सम्झिने’


इलाम । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले केपी ओलीलाई देशबासीहरुले सम्झनुपर्ने कुनै उल्लेख्य काम नभएको आरोप लगाए । खनालले करिब ४ बर्ष प्रधानमन्त्री हुँदा समेत ओलीले जनता र पार्टीको हित भन्दा गुटको राजनीति गरेको आरोप लगाए । इलामको सूर्योदय नगरपालिकामा आयोजित अखिल नेपाल किसान महासंघको जिल्ला भेलामा बोल्दै खनालले भने ‘खड्ग प्रसाद शर्मा ओलीलाई हामीले के मा सम्झिने । के काम गरे भनेर सम्झिने त्यस्तो काम त छैन् । उनी ९ महिना हैन् ४ बर्ष झन्डै ४२ महिना जति प्रधानमन्त्री भए तर केही काम हुन सकेन् ।’


खनालले राज्यमा बस्ने मानिसहरु कमिसन मात्रै खाने र व्यक्तिगत हितमा मात्र लाग्ने खालका कुराहरु भएको खण्डमा विकास सम्भव नहुने बताए । उनले केपी ओली नेतृत्वको सरकार व्यक्तिगत गुट मात्र भएको आरोप लगाए । ‘कम्युनिष्ट सरकार बनेपछि जुन आशा अपेक्षा गरेको थियौ त्यो कम्युनिष्ट सरकार बनेन् त्यो खड्ग प्रसाद ओलीको सरकार मात्र भयो । एमालेको सरकार पनि हैन् । एमालेको सरकार एक दिन पनि भएन् । खाली केपी ओलीको गुटको सरकार मात्र भयो । पाटीको सरकार भएन् र पार्टीको नीति पनि लागु गरिएन् ।’
जबज भनेको पुँजीवादी जनवाद
खनालले जबज भनेको पुँजीवादी जनवाद भएको बताए । उनले समाजवाद छाडेर केपी ओली दक्षिणपन्थी फड्काउ तर्फ लागेको आरोप लगाए । केपी ओलीले पार्टीको नीति, सिद्धान्त र कार्यदिशा भन्दा विपरित गएकाले नेकपा विभाजन भएको समेत आरोप लगाए । ‘ केपी ओली विदेशका गुप्तचर विभागका प्रमुखलाई राती ३ घण्टा भेट्न जाने के का निम्ती भेटेको ? के सम्झौता गर्न थालेको ? के समझ्दारी गर्न थालेको हो ? न पार्टीसंग सल्लाह छ न कुनै संस्थासंग सल्लाह छ । न त्यहाँ के कुरा भयो भन्ने जानकारी छ । यसरी जो पायो त्यहीसंग जे पायो त्यही बोल्न पाइदैन् । कुटनीतिक हिसाबले पनि गलत कुरा हुन्छ । उनलाई सच्याउन कोसिस ग¥यौ तर उनी सचिएनन् । उल्टै के ठान्न थाले मलाई घेरा गर्न थाले म कति काम गर्थे तर मलाई काम गर्न दिइएन् ।’
खनालले भने ‘ उनले गर्ने भनेको नीति कार्यक्रम संसदले पास गरिदिएकै छ । बजेट ल्याउन दिएकै छ ऐन ल्याउन दिएकै छ जम्मै कुरा हूँदा हुँदै पनि उनलाई के मा अवरोध भएछ भने पार्टीको नीति र कार्यदिशाबाट अघि बढ् भन्दा खेरी उनी दक्षिणपन्थी फड्काउ तर्फ पार्टीलाई लग्न चाहने पुँजीवाद तर्फ लग्न चाहने तथाकथीत जवज तर्फ लग्न चाहन्थे जबज भनेको पुँजीवादी जनवाद नै हो नी त्यता तर्फ लग्न चाहन्थे । उनी पुँजीवादी दिशा तर्फ जान चाहन्थे हामी समाजवादी दिशा तर्फ जान चाहन्थ्यौ । बाटो फरक प¥यो त्यसले गर्दा घेराउ महसुस गर्न थाले ।’
खनालले २ तिहाईको बहुमतको सरकारको महत्व केपी ओलीले बुझ्न नसकेके आरोप लगाए । खनालले आवश्यक परेको खण्डमा संविधान समेत संसोधन गर्न सक्ने क्षमता बोकेको कम्युनिष्ट सरकार केपी ओलीको सनकको भरमा फुटेको आरोप लगाए । ‘आफनै पार्टीले ल्याएको २ तिहाई बहुमतको सरकार भनेको त्यहाँ भन्दा शक्तिशाली सरकार नेपालमा अरु हुनै सक्दैन्। त्यो सरकारले जनमुखी बजेट ल्याउ सक्थ्यो । नीति कार्यक्रम ल्याउन सक्थ्यो आवश्यक प¥यो भने देशको संविधान समेत संसोधन गर्न सक्थ्यो ।’
खनालले भने ‘हामी संविधान बनाउनु भन्दा अगाडी भन्थ्यौ नी देशमा प्रत्यक्ष प्रधानमन्त्री चाहियो । यो संविधानमा हुन सकेन् त्यो नै आवश्यक हो भन्ने ठान्ने हो भने हामी संविधान संसोधन गरेर प्रत्यक्ष रुपले निर्वाचित गर्ने प्रधानमन्त्री ल्याउन पनि सक्थ्यौ ।’
पार्टीले बोकेको विचार र सिद्धान्त नै मुलभुत सार
अधिकांश समय केपी ओलीको आलोचनामा विताएका खनालले कृषि क्रान्तिलाई ओली नेतृत्वको सरकारले चासो नदिएको समेत बताए । खनालले मनमोहन अधिकारी ९ महिना प्रधानमन्त्री बन्दा सुधारको नीति कार्यक्रम अघि सारेको स्मरण गर्दैै खनालले भने ‘हामीले आफ्नो गाउँ आफै बनाऔ भन्ने अवधारणा सुरु गरौ । जेष्ठ नागरिकहरुलाई सम्मान गर्न सुरु गरौ । त्यसैले मनमोहन अधिकारी लोकप्रिय कम्युनिष्ट प्रधानमन्त्रीको रुपमा सम्झिन्छौ ।’ खनालले चिन्हमात्र सवथोक नभएर पार्टीले बोकेको विचार र सिद्धान्त नै मुलभुत सार भएको बताए । उनले सक्रियपुर्वक संगठनमा भुमिका खेल्न सके पार्टी निर्माण हुने धारणा राखे ।
‘आम कार्यकर्ता समाजमा हुनुहुन्छ अहिले पनि सूर्य भन्दै हुनुहुन्छ उहाँहरु ठुलो भ्रममा हुनुहून्छ । सूर्य चिन्हमात्रै सवै कुरा हैन् । ४६ सालसम्म हाम्रो कुनै चिन्ह थियो र ? २०२६ सालमा इलाम जिल्ला कमिटि बनायौ । ३२ सालमा कोअर्डिनेसन केन्द्र बनायौ ३५ सालमा नेकपा माले बनायौ । ४८ सालमा पुग्दा नेकपा एमाले भयौ । ४६ सालपछि मात्रै हामीले चिन्ह लिएको हो ।’ खनालले भने ‘चिन्हले पार्टी बन्ने कुरा हैन् । पार्टी बन्ने विचारले हो नीति सिद्धान्त, लक्ष्यले हो । सक्रिय पुर्वक संगठन निर्माण गर्ने काममा भुमिका खेलेपछि पार्टी बन्छ । पार्टीलाई व्यवस्थित गरेर चुनावमा एउटा चिन्हमा हालेर मत जम्मा गर्नको लागि पो एउटा चिन्ह बनाएको हो । बुढापाकाले भन्नुहुन्छ ४८ साल देखि यहि सूर्य चिन्हमा हालेको म फेरी पनि यसैमा हाल्छु भन्ने थुप्रो छन् उहाँहरुलाई बुझाउनुप¥यो ।’
७० प्रतिशत सिटमा तालमेल
स्थानीय तहको निर्वाचनका समिक्षाबाट चित्तबुझ्दो परिणाम नआएपनि संघीय र प्रदेशसभा निर्वाचनमा विगतबाट पाठ सिकेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए । खनालले केन्द्रीय तहमा गठबन्धनलाई दृढतापुर्वक लिएर अघि बढ्ने सहमती भएको बताए । ‘ अहिले संघीय क्षेत्रका १६५ निर्वाचन क्षेत्रमा अहिले छलफल गरिरहेका छौ । ७० प्रतिशत भन्दा बढि सिटहरुमा तालमेल करिब करिब भइसकेको छ । बाँकी सिटहरुमा छलफल चल्दैछ । ’ खनालले भने ‘ प्रदेशको तहमा छलफल चलाउँदैछौ । २/३ दिन भित्रमा टुङ्गोमा पुग्छौ भन्ने हाम्रो अनुमान छ ।’
अखिल नेपाल किसान महासंघ प्रदेश न १ को मेची उपाध्यक्ष तारा नेपालको अध्यक्षता मा सम्पन्न कार्यक्रममा नेकपा एसका केन्दीय सदस्य प्रदेश न १ सस्कृंती तथा पर्यटन मन्त्री खिनु लङवा लिम्बु , नेकपा एसका केन्दीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज राम चन्द्र पराजुली , नेकपा एसका केन्द्रीय सहल्लाकार परिषद सदस्य सूर्यबाला राई , एलबि सुब्बा ,केन्द्रीय सदस्य टेक बहादुर राई , केन्द्रीय परिषद सदस्य सावित्रा गडतौलाको आतिथ्यता रहेको थियो ।
, जिल्ला कमिटि अध्यक्ष भक्त केसी ,प्रदेश कमिटि सदस्य तथा बुद्धिजिवि सगँठन परिषद इलाम इन्चार्ज पुष्प ढुङ्गाना , प्रदेश कमिटि सदस्य डम्बर गदाल जिल्ला कमिटि सचिवालय सदस्य रण बहादुर राई नगर अध्यक्ष कमल गदाल युवा संघ स्थायी कमिटि सदस्य तथा इलाम इन्चार्ज पेमा उगेन लामा लगायतको उपस्थीति रहेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment