प्लाष्टिकजन्य फूलको बिक्री–वितरण रोक्नका लागि अनुगमन गरिने

३ कार्तिक २०७९, बिहीबार


काठमाडौं । वातावरण विभागले शुक्रबारदेखि प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात बिक्री वितरण रोक्न माइकिङ तथा अनुगमन गर्ने भएको छ । तिहार र छठको मुखमा सरकारले सूचना जारी गर्दै प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्री वितरणमा रोक लगाएको हो ।
वातावारण विभागका महानिर्देशक नारायण घिमिरेले प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्री वितरणमा रोक लगाएको सरकारले शुक्रवारदेखि नै बजारमा प्लाष्टिकजन्य फूल बेच्न र प्रयोग नगर्न माइकिङ गर्ने बताए । उनले सरकारले गत साउनमा राजपत्रमा प्रकाशन गरेर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन,आयात बिक्री, वितरण वा भण्डारणमा रोक लगाएको भन्दै बिहीवारको सूचनामार्फत सचेत गराएको बताए ।
उनले तिहार र छठ नजिकिएसँगै बजारमा प्लाष्टिकजन्य फूलमालाहरु बिक्री बढ्ने भएकाले बिक्रिवितरणमा रोक लगाउने सरकारको उद्देश्य रहेको बताए । घिमिरेले गत साउनदेखि नै प्लाष्टिकजन्य फूलमालाहरुको आयात प्रतिवन्ध रहेको बताए ।
उनले तिहार र छठजस्ता पर्वहरुमा प्लाष्टिकजन्य फूलमाला प्रयोग नगर्न आग्रह गर्दागर्दै पनि बजारमा बिक्रीवितरण गरेको अनुगमनमा भेटिएमा तत्काल १ लाख रुपैयाँसम्म जरिवाना गरिने बताए ।
उनले अनुगमनका क्रममा सरकारको निर्णय विपरित कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिम १५ हजार देखि २० हजार रुपैयाँसम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट १ लाख रुपैयाँसम्म जरिवाना हुने सुचनामा उल्लेख अनुसार नै कारबाही गरिने बताए ।
उनले भने, ‘प्लाष्टिकका फूलहरु बिक्रीवितरण नगर्नु भनेर वातावरण विभागले आज सूचना दिएको हो । तर यो गत साउन १२ गते राजपत्रमा प्रकाशित सूचनाको जानकारी हो । सरकारको उदेश्य तिहार लगायतका चाडपर्वहरुमा प्लाष्टिक जन्य फूल तथा झल्लरहरुको बिक्रीवितरण रोक्नको लागि सूचना जारी गरिएको हो । यस्ता फूलको आयात गत साउनमा नै आयातमा रोक लगाइसकेको हो । भन्सारमा प्लाष्टिकबाट बनेका फूल,झल्लरहरु लयातका वस्तुहरु आयात गर्न पाइँदैन । तर अहिले विगतमा आयात गरेर स्टोरमा रहेका फूलहरु तिहारमा बजारमा बिक्रीवितरणमा वा प्रयोग नगर्न सचेतनाको लागि सूचना जारी गरिएको हो ।’
उनेल थपे, ‘बजारमा प्लाष्टिक जन्य फूलहरु प्रयोग नगर्न भोलिदेखि नै माइकिङ गर्छौं । शुक्रवार र शनिवार दिनभर माइकिङ गर्छौंं । माइकिङ गर्दै बजार अनुगमनमा जान्छौं । यस्ता फूलहरुको प्रयोग नगर्दा जानकारी गराएपछि पनि अनुगमन गर्दा यस्ता सामान बजारमा भेटियो भने कारबाही गर्ने चरणमा जान्छौं । आज पत्रिकामा सूचना प्रकाशित ग¥यौं । भोली माइकिङ गर्छौंं । शनिवारबाट अनुगमनमा जान्छौं र बजारमा बिक्रीवितरण भएको भेटिएमा कारबाही गर्छौं ।’
उनले फेरि भने, ‘ऐनले नै सरकारले राजपत्रमा प्रकाशित गरेर निषेध गरेका कुनै पनि वस्तुहरुको प्रयोग वा प्रतिबन्ध अवज्ञा गरेमा विभागको महानिर्देशकबाट १ लाखसम्म जरीवाना गर्नसक्ने र अनुगमन गर्दा वातावरण निरीक्षकले तत्काल २० हजारसम्म जरिवाना गर्न पाउने व्यवस्था छ । त्यही अनुसार नै कारबाही हुन्छ ।’
उनले प्लाष्टिकजन्य फूलमालाहरु बिक्रीवितरण गर्ने र प्रयोग गर्नेहरुको लागि बिहीवार सूचना निकालेर सचेत गराएको भन्दै शुक्रवार माइकिङ गर्ने र अर्को दिनबाट अनुगमन गर्ने तयारी विभागको रहेको बताए । उनले सरकारले प्लाष्टिकजन्य फूलमालाहरु आयात गर्ने नै प्रतिवन्ध गरेकाले त्यस्ता वस्तु बजारमा देखिएमा साना व्यापारी भन्दा पनि सामान ल्याउने स्रोत पहिचान गर्न अनुगमन टोली खटाइने पनि बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment