इलाम, १ पुसः पूर्वी नेपालको पहाडी जिल्लामा मृगौला रोगीका लागि डायलासिस सेवा शुरु भएको छ । इलाम नगरपालिका र संघीय सरकारको समन्वयमा इलाम अस्पतालमा प्रथम पटक मृगौलाको डायलासिस सेवा शुरु भएको हो ।
मृगौला रोगीले एक पटक डायलासिस गर्दा चार घन्टा मेसिनमा जोडिनु पर्छ । मानिसको मिर्गौलाले काम गर्न छोड्यो भने उसको ज्यान बचाउनलाई डायलासिस गरिन्छ । डायलासिस हप्तामा २ पटक गर्नुपर्छ ।
पहाडी जिल्लामा मृगौलाको डायलासिस सेवा नहुँदा बिरामीहरु झापा, मोरङ र सुनसरीका अस्पतालमा लाइनमा बसेर सेवा लिन्थे । तर इलाममा नै डायलासिस सेवा सुचारु भएपछि बिरामीले गणुस्तरीय सेवा पाएका छन् । जसले गर्दा तराईका जिल्लाका अस्पतालमा पुगेर लाइनमा सेवा लिनुपर्ने झन्झटिलो बाध्यता बिरामीलाई हटेको इलाम नगर उप–प्रमुख बिष्णु दाहालले बताइन् ।
मृगौला रोगिको डायलासिसका लागि ५ वडा बेड इलाम अस्पतालमा छन् । जिल्ला समन्वय समितिबाट हस्तान्तरण भएको भवनमा मृगौला रोगीको डायलासिस हुने गरेको छ । ५ वेडमध्ये ३ वटा उपकरण सहित बेड रोटरी क्लव धरान, जिल्ला समन्वय समिति र इलाम नगरपालिकाबाट इलाम अस्पताललाई हस्तान्तरण भएको थियो । बाँकी २ वटा स्वास्थ्य सेवा विभागले इलाम अस्पताललाई हस्तान्तरण गरेको हो ।
मिर्गौलाले काम नगरेका बिरामीको शरीरमा जम्मा भएको फोहरलाई सफा गर्ने पद्धति डायलासिस हो । डायलासिस सेवा सुरु गरेपछि इलामसँगै पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका बिरामीहरुले अहिले निःशुल्क डायलासिस सेवा पाएका छन् । इलाम नगरको समन्वयमा शुचारु भएको डायलासिस सेवालाई थप सुधार गर्दै लगिने इलाम नगरप्रमुख केदार थापाले बताए ।
शरीरमा भएको जति पनि फोहर पदार्थ रगतबाट किड्नीमा जान्छ । किड्नीले त्यसलाई छानेर पिसाबको माध्यमबाट निकाल्छ । तर जब किड्नी बिग्रिन्छ, त्यसपछि यसले फोहर छान्न पनि सक्दैन र पिसाब निकाल्न पनि सक्दैन । अनि डायलासिस गरिन्छ । डायलासिस हेमोडायलासिस र पेरिटोनियल डायलासिस गरि २ प्रकारका हुन्छन् ।


0 comments:
Post a Comment