ओखलढुंगा दुर्घटना : २ जनाकाे मृत्यु, गम्भीर घाइते १० जनालाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइयो

२१ फाल्गुन २०७९, आईतवार


ओखलढुंगा । बोलेरो जिप दुर्घटनामा परी गम्भीर घाइते भएका १० जनालाई हेलिकप्टरमार्फत काठमाडाैँ पठाइएको छ । जिल्लाको चिसंखुगढी गाउँपालिका- ३ दियालेस्थित राउटार भन्ने ठाउँमा आज (आईतबार) बिहान ना १ ज ८४७३ नम्बरको जीप दुर्घटनामा परेको थियो ।
दियालेबाट यात्रुहरु लिएर ओखलढुंगा सदरमुकामतर्फ आउँदै गरेको जीप अचानक अनियन्त्रित भई दुर्घटना भएकाे थियाे । दुर्घटनामा परी दियालेका ५२ वर्षीय मिनबहादुर श्रेष्ठ र सोही ठाउँका ७० बर्षीय भक्तबहादुर थापाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर रहेका १० जनालाई उद्धार गरी दुई पटकमा हेलिकप्टरमार्फत काठमाडाैँ पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपकबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार गम्भीर घाईतेहरु चिसंखुगढी- ३ दियालेका चालक २५ पर्षीय सुमन कार्की, सोही ठाउँका २६ वर्षीया शर्मिला श्रेष्ठ, ४० वर्षीय केन्द्रबहादुर कार्की र चिसंखुगढी- १ कुईभिरका २२ पर्षीय खेमबहादुर खत्रीलाई उपचारका लागि काठमाडाैँ पठाइएको हाे ।

त्यसपछि पुनः अर्को हेलिकप्टरमा सिद्धिचरण नगरपालिका- १० बेतिनीका ४० वर्षीया तुलसा धमला, उनकै २ वर्षीय छोरा विनय धमला, चिसंखुगढी- ३ दियालेकी ५० वर्षीया तिर्थलक्ष्मी श्रेष्ठ र सोहि ठाउँकी १३ पर्षीया आयुषा श्रेष्ठ, ४ वर्षीया लरिसा श्रेष्ठ तथा चिसंखुगढी गापा- २ का ५७ वर्षीया तिलकुमारी श्रेष्ठलाई उपचारका लागि काठमाडाैँ पठाइएको छ ।
दुर्घटनामा सामान्य घाइते भएका मोलुङ गाउँपालिका- १ का ३५ वर्षीया जानुका धमला र उनका ४ वर्षे छोरा कोशिस धमलालाई एम्बुलेन्समार्फत उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाएएको प्रहरी प्रमुख केसीले जानकारी दिए ।
सडकमा गुडिरहेको जिप अचानक अनियन्त्रित हुँदा सडकबाट झन्डै १ सय मिटर तल खस्दा दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकाहरुको अहिले काठमाण्डौस्थित टिचिङ हस्पिटलमा उपचार भैरहेको  छ । उनीहरुमध्ये अधिकांशको टाउको र शरीरका अन्य भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment