देउवाले चार दिन कुराए, आफ्नैलाई टिकट थमाए


२२ चैत, काठमाडौं । अरु दलका उम्मेदवार उपचुनावको दौडाहामा लागिसक्दा संसदको ठूलो दल कांग्रेसका टिकट आकांक्षीहरु काठमाडौंमै अड्किइरहेका थिए । चार दिनसम्म लम्बिएको बैठकले निष्कर्ष नदिंदा चुनाव तयारी नै प्रभावित थियो ।
सहमतिका लागि समय लगाएको तर्क गरिए पनि कांग्रेसले अन्ततः सभापति शेरबहादुर देउवाको इच्छा अनुसारकै व्यक्तिलाई उपनिर्वाचनको उम्मेदवार बनाएको छ ।


इलाम-२ मा डम्बर खड्का र बझाङ प्रदेश सभा (१) मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने बिहीबार बसेको संसदीय बोर्डको बैठकले निर्णय लिएको छ ।
पार्टीको लगातार चार दिन बैठक बोलाएर देउवाले आफू अनुकूलका व्यक्तिलाई उम्मेदवार बनाउने निर्णय गराए । देउवाका लागि खड्का र सिंहको पक्षमा निर्णय गराउन सहज भने भएन ।
खड्का र सिंहको पक्षमा आफू रहेको संकेत देउवाले १९ चैतको बैठकमै गरेका थिए। पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा सभापति देउवाले कुनै उम्मेदवारको पक्षधरता लिएका थिएनन् । उनी निकट नेता ज्ञानेन्द्रबहादुर कार्कीले सभापति देउवाको चाहना अनुसारको अभिव्यक्ति दिए ।
उक्त दिनको छलफल बारे बैठकमा सहभागी नेता भन्छन्, ‘यो यो कारणले डम्बर र अभिषेक उम्मेदवार बनाउनुपर्छ भनेर देउवाले चाहे अनुसार ज्ञानेन्द्र कार्की बोले ।’ उक्त दिनको बैठक औपचारिक भने थिएन ।
२० चैतमा संसदीय बोर्डको बैठक देउवाले डाके । संसदीय बोर्डको बैठक अघि इलाम-२ का आकांक्षीलाई देउवा निवास बूढानीलकण्ठ बोलाए ।
डम्बरबहादुर खड्का, भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल र रमेश लिङ्देन देउवा निवासमा पुगेका थिए । उक्त छलफलमा पदाधिकारीबाट सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का मात्रै सहभागी थिए ।
उम्मेदवारमा सिफारिस परेका चन्द्रमाया लिम्बू र शान्तिकला तामाङ भने काठमाडौंमा नभएकाले उपस्थित हुन सकेनन् ।
उक्त बैठकमा सहभागी एक आकांक्षी उम्मेदवारका अनुसार खड्काले चुनाव सहजै जित्ने दाबी देउवासँग गरेका थिए । आचार्यले सिंगो संगठनको बल आफूलाई रहेकाले आफू बाहेक अरुले जित्न नसक्ने दाबी देउवासँग गरे ।
अर्का आकांक्षी केशव थापाले पार्टीभित्र आफू संस्थापन पक्ष भए पनि पटक पटक अवमूल्यन गरिएको गुनासो राखेका थिए । अर्का आकांक्षी नगेन्द्र कुमालले जनजाति र युवा पुस्ता भएकाले आफ्नो उम्मेवारीले जित निकाल्न सकिने तर्क राखेका थिए ।
मंगलबार बोलाइएको संसदीय बोर्ड र कार्यसम्पादन समितिको बैठकमा सभापति देउवाले पटक पटक खड्का र सिंहको नाम दोहोर्‍याए ।
खड्का उम्मेदवार बन्ने आधार दिंदै देउवाले ११४ मतान्तरलाई उनको पुनः उम्मेदवारीको मूल कारण देखाए । अघिल्लो निर्वाचनमा जो पराजित भएको हो उही उपचुनावमा उम्मेदवार बन्न पाउनुपर्छ भन्ने उनको तर्क थियो ।
गत निर्वाचनमा पराजित भएकाले नलड्ने भए मात्रै अर्कोले पाउने देउवाको तर्क थियो । खड्काले सभापतिमा आचार्यलाई हराएको कारण पनि देखाएका थिए । यद्यपी, बैठकमा निर्णय गराउने गरी व्यक्तिको नाम भने लिखित रुपमा बैठकमा प्रस्ताव राखेनन् ।
‘जनप्रियलाई उम्मेदवार बनाएर जिताउनु चुनौती हो । जो लडे पनि एकले अर्कालाई सहयोग गर्नुपर्ने र चुनौती सामना गर्न सक्नुपर्ने उम्मेवार बनाउनुपर्ने हाम्रो जोड हो’, संस्थापनइतरका नेता अर्जुननरसिंह केसी भन्छन् ।
नेता शेखर-गगन पक्षले भने इलाम-२ मा भेषराज आचार्यको पक्षमा जोड दिए । भूगोलमा आचार्यको उपस्थिति बलशाली रहेकाले उनलाई उम्मेदवार बनाउने पक्षमा मत शेखर-गगन समूहका नेताहरुले मत राखे ।
संस्थापनइतरका एक नेता भन्छन्, ‘भेषराज आचार्यलाई टिकट दिए जिताउन सकिन्छ, डम्बरलाई अरु कुनै अवसर दिऔं भनेको, सभापतिलाई कन्भिन्स गर्नै सकिएन ।’
लामो समय कांग्रेसको राजनीतिमा क्रियाशील र कार्यकर्ताको सहानुभूति आचार्यमा रहेको संस्थापनइतरको भनाइ छ । जिल्ला सभापतिमा जित्न नसके पनि क्षेत्रीय सभापति, उपसभापति, सचिव, प्रदेश सांसद आफ्नो पक्षका भएको आचार्यको दाबी छ ।
मंगलबारको बैठकमा दुवै पक्ष टसमस नभएपछि देउवाले बुधबारलाई बैठक डाके । बुधबारको बैठकमा भने देउवाले खड्का र सिंहलाई उपनिर्वाचनको उम्मेदवार बनाउने प्रस्ताव लिखित रुपमा ल्याए । देउवाको प्रस्तावलाई शेखर-गगन पक्षका नेताहरुले स्वीकार्न तयार भएनन् ।
‘पार्टीको संरचनाले के भन्छ भन्ने हो । पार्टी संरचनामा बसेर काम गरेकाहरुमा ७५ प्रतिशत बढीले भेषराजलाई उम्मेदवार बनाउने मत रहेको कुरा सभापतिलाई भन्यौं’ बैठकमा सहभागी संस्थापन इतरका एक नेता भन्छन्, ‘अघिल्लोपटक चुनाव लडेका कुरालाई मात्रै आधार नबनाऔं । पार्टीको संरचनाको कुरा सुनौं भन्यौं ।’
इलाम-२ बाट सात जनाको नाम सिफारिस भए पनि मूलतः चर्चा खड्का र आचार्यको रह्यो । बुधबार उम्मेदवार टुंगिन नसकेपछि देउवाले बिहीबार बिहान उम्मेदवारका आकांक्षी सहितको बैठक डाके । उनले पदाधिकारी सहितको बैठकमा खड्काले चुनाव जितेर आउने दाबी गरे ।
जिल्ला सभापति भएको र अघिल्लोपटकको उम्मेदवार भएकाले आफ्नो दाबी स्वाभाविक भएको पदाधिकारीलाई सुनाएको खड्काले बताए । ‘मैले टिकट नपाए भने पाउनेलाई जिताएर पठाउँछु भनें’, खड्काले अनलाइनखबरसँग भने ।
अर्का आकांक्षी आचार्यले कांग्रेसको एक सिट बढाएर देखाउने दाबी गरेका थिए । ‘म जित्छु । टिकट दिनुस् । पार्टीका नेता र संगठनको इज्जत राख्छु भनेको हुँ’, आचार्यले भने । आकांक्षी केशव थापाले आफ्नो नाममा पार्टी बैठकमा चर्चा समेत नहुने गरेको भन्दै गुनासो गरेका थिए ।
सभापति देउवाको सहमति खोजेर मात्रै निर्णय गर्ने बानीका कारण चारदिनसम्म बैठक बस्नु परेको प्रचार विभाग प्रमुख मीन विश्वकर्मा बताउँछन् । कार्य सम्पादन समिति, संसदीय बोर्डमा रहेका सदस्य, आकांक्षी उम्मेदवारको कुरा सुनेर निर्णय लिंदा ढिलो भएको उनले सुनाए ।
‘छलफल गर्दै गर्दै जाँदा आकांक्षीहरुलाई सम्झाउने काम पनि भयो । जसको नाम सभापतिले प्रस्ताव गर्नुभएको थियो’ विश्वकर्माले भने, ‘ती नाममा अधिकांश नेताले सहमति दिनुभयो । सहमति जुटाएर उम्मेदवार बनाउनुभयो ।’
देउवाको जोडबलमा पुनः टिकट पाएका खड्का निर्माण व्यवसायी पनि हुन् । नेविसंघको दुईपटक जिल्ला सभापति बनेका उनी पार्टीको जिल्ला कोषाध्यक्ष हुँदै सभापति बनेका हुन् । उनी नेविसंघको केन्द्रीय उपाध्यक्ष समेत बनेका थिए ।
बझाङ प्रदेश सभामा १० जनाको नाम सिफारिस भएको थियो । नेताहरुको छलफल हुँदा मुख्यतः अभिषेक सिंह र जगत जोशीको नाममा छलफल केन्द्रित गरे । टिकट प्राप्त गरेका सिंह दुर्घटनामा निधन भएका सुदूरपश्चिमका तत्कालीन मन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन् ।
पुराना नेता भएकाले जोशीलाई उम्मेदवार बनाउनुपर्ने पक्षमा संस्थापनइतरका नेताहरु थिए । दुर्घटनामा बुबाको मृत्यु भएकाले छोरालाई टिकट दिनुपर्ने अडान देउवाले लिए ।
प्रदेश सभामा टिकट पाएका सिंह गत निर्वाचनमा स्थानीय तहको वडाध्यक्षमा पराजित भएका थिए । जयपृथ्वी नगरपालिकाको वडा नम्बर ५ को वडाध्यक्षमा तेस्रो स्थानको मत सिंहले पाएका थिए । 
अनलाइन खबरबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment